जर्जेस रिभर काउन्सिलको पिकहर्स्ट पार्कमा पहिलो मोडुलर सामुदायिक केन्द्र निर्माण हुँदै

जर्जेस रिभर काउन्सिलको  पिकहर्स्ट पार्कमा पहिलो मोडुलर सामुदायिक केन्द्र निर्माण हुँदै
नेपालआईज
३० माघ २०८२ ३:२६

सिड्नी: जर्जेस रिभर काउन्सिलअन्तर्गत पिकहर्स्ट पार्कमा नयाँ सामुदायिक केन्द्र निर्माण प्रक्रिया अघि बढेको छ। मोडुलर संरचनाका भागहरू हाल साइटमा ढुवानी गरी जडान गर्ने काम सुरु भएको छ। यो काउन्सिलको इतिहासमै पहिलो मोडुलर भवन निर्माण परियोजना हो।

काउन्सिलले उक्त भवन निर्माणका लागि मोडस्ट्रक्ट ग्रुपलाई जिम्मा दिएको थियो। कम्पनीले स्मीटन ग्रेन्जस्थित आफ्नै कारखानामा केन्द्रका संरचनात्मक भागहरू तयार पारेपछि ती मोडुलहरू पिकहर्स्ट पार्कमा ल्याएर जडान गरिँदैछ।

यो केन्द्र आठवटा पूर्वनिर्मित (prefabricated) मोडुलर युनिटबाट निर्माण हुनेछ। ती प्रत्येक भाग छुट्टाछुट्टै ल्याएर साइटमै जडान गरिनेछ। मौसम अनुकूल रहेमा निर्माण कार्य सन् २०२६ को अप्रिलसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ।

निर्माण सम्पन्न भएपछि केन्द्र बहुउद्देश्यीय सामुदायिक हबका रूपमा सञ्चालनमा आउनेछ। स्थानीय सामुदायिक संस्था तथा सरोकारवालाहरूले बैठक, कार्यक्रम सञ्चालन तथा विभिन्न गतिविधि आयोजना गर्न साझा रूपमा प्रयोग गर्न सक्नेछन्। केन्द्रमा सामुदायिक हल, भान्सा, शौचालय तथा कार्यालय कक्षहरू रहनेछन्।

काउन्सिलले केन्द्रको प्रस्तावित नाम “पिकहर्स्ट पार्क कम्युनिटी सेन्टर” राखेको छ। नामकरण सम्बन्धी सार्वजनिक परामर्श प्रक्रिया फेब्रुअरी ७ मा सम्पन्न भएको थियो।

यो परियोजना नेपाली समुदायले सुनिश्चित गरेको १० लाख अमेरिकी डलर बराबरको संघीय सरकारी अनुदान तथा राज्य सरकारबाट प्राप्त १ लाख डलर सहयोगबाट सम्भव भएको हो। साथै जर्जेस रिभर काउन्सिलले पनि केन्द्र विकासका लागि १३ लाख डलर विनियोजन गरेको जनाएको छ।

जर्जेस रिभरकी मेयर एलिस बोर्गले हालै स्मीटन ग्रेन्जस्थित मोडस्ट्रक्ट ग्रुपको कारखाना अवलोकन गरेकी थिइन्। सो अवसरमा काउन्सिलका महाप्रबन्धक डेभिड टक्सफोर्ड तथा परियोजना टोलीका सदस्यहरू पनि सहभागी थिए। टोलीले निर्माणको अन्तिम चरणको निरीक्षण गरेको थियो।

मेयर बोर्गले भनिन्, “मोडुलर डिजाइन, निर्माण तथा अफ–साइट निर्माण प्रणाली हाम्रो क्षेत्रका लागि ऐतिहासिक उपलब्धि हो। काउन्सिलका लागि यो पहिलो अनुभव हो र यसले आधुनिक डिजाइनमार्फत स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ दिन सकिने प्रमाणित गरेको छ।”

उनले थपिन्, “यो केन्द्र सञ्चालनमा आएपछि सबैको साझा थलो बन्नेछ। यहाँ कार्यक्रम सञ्चालन गर्न, भेटघाट गर्न वा सामुदायिक रूपमा जोडिन चाहने जो–कोहीले बुकिङ गरी प्रयोग गर्न सक्नेछन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर