नेपाल। नेपाल आईसीसी यू-१९ विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपाल सन् २०२४ मा श्रीलंकामा आयोजना हुने विश्वकपका लागि छनाैट भएको हो ।
एशियाली छनोटको अन्तिम खेलअन्तर्गत बुधबार यूएईलाई ७ रनले पराजित गर्दै नेपालले आठौँपटक यू-१९ विश्वकपमा स्थान बनाएको हो ।
१९२ रनको लक्ष्य पाएको यूएईलाई नेपालले ४८ ओभरमा १८४ रनमा अलआउट गर्यो । नेपालका दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गरी अविस्मरणीय रूपमा नेपाललाई खेलमा फर्काउँदै विश्वकपमा पुर्याएका हुन् ।
६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली बन्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुगेको हो । नेपालले सबै पाँच खेल जित्यो भने यूएईले पाँचमध्ये ४ खेल जित्यो । नेपाललाई विजय दिलाउने क्रममा दीपेश कँडेल ५ विकेट लिए ।
हेमन्त धामीले र सुवास भण्डारीले २/२ विकेट लिए । यूएईबाट कार्ल डिसुजाले ५० रन बनाए । यसअघि यूएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाएर अलआउट भएको थियो । कप्तान देव खनालको अर्धशतकमा नेपालले १ सय ९१ रन बनाउन सफल भयो । यूएईका ध्रुव परासरले ३ विकेट लिए ।
नेपालले यसअघि सन् २०१६ मा यू-१९ विश्वकप खेलेको थियो । बंगलादेशमा भएको त्यस संस्करणमा नेपालले न्युजिल्यान्ड र आयरल्यान्डजस्ता टोलीलाई हराएर सुपर क्वाटरफाइनल यात्रा तय गरेको थियो । सन् २०१८, २०२० र २०२२ मा आयोजित संस्करणमा भने नेपाल छनोट हुन सकेको थिएन ।
यसपटक महादेशीय छनोटको विजेतालाई सोझै विश्वकपमा छनोट हुने प्रावधान राखिएका कारण नेपाल एसियाली छनोटको विजेताका रुपमा विश्वकपमा स्थान बनाएको हो । नेपालले सन् २००० देखि २००८ सम्म लगातार पाँचपटक यू-१९ विश्वकप खेलेको थियो । पहिलोपटक एसीसी यू-१९ एलिट कपको उपविजेताका रुपमा विश्वकपमा स्थान बनाएको नेपाली टोली त्यसपछि लगातार चारपटक विजेता भएका कारण विश्वकप पुग्न सफल भएको थियो ।
सन् २०११ मा एसीसी यू-१९ मा उपविजेता बनेको नेपाली टोली विश्वस्तरको छनोटबाट विश्वकप पुगेको थियो । सन् २०१५ मा एसीसी यू-१९ मा उपविजेता बनेको नेपाली टोली विश्वस्तरको छनोटमा विजेता बन्दै विश्वकपमा स्थान बनाउन सफल भएको थियो ।