सिड्नी – एनआरएनए अष्ट्रेलिया फाउन्डेशनले अष्ट्रेलियन कर कार्यालय (ATO) बाट डिडक्टेबल गिफ्ट रिसिपियन्ट (DGR) मान्यता प्राप्त गर्दै सामाजिक सेवाको क्षेत्रमा आफ्नो पहुँच र प्रभावकारिता अझ विस्तार गरेको छ।
अब फाउन्डेशनले अष्ट्रेलियाभरि रहेका आप्रवासी, शरणार्थी, आर्थिक रूपमा कमजोर तथा जोखिममा परेका व्यक्तिहरूलाई सहयोग गर्न कर कटौतीयोग्य दान संकलन तथा सरकारी अनुदान प्राप्त गर्ने सुविधा हासिल गरेको छ।
नयाँ कार्यकारिणी टोलीको नेतृत्व अध्यक्ष नविन पन्तले गरेका छन्, जो सुशासन, जोखिम व्यवस्थापन र वित्तीय नेतृत्वमा विज्ञ हुन। साथै, अनिल पोखरेल (एनआरएनए अष्ट्रेलियाका वर्तमान अध्यक्ष तथा वरिष्ठ वित्त व्यवस्थापक), मञ्जु खड्का (सामाजिक अभियन्ता र साउथ अस्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य), डा. वन्दिता मैनाली (Macquarie University की प्राध्यापक र अनुसन्धानकर्ता), डा. बसुन्धरा भट्टराई (IFSD की कार्यक्रम निर्देशक र नीति विज्ञ), र मोती नराल (पहिलो नेपाली मूलका अधिवक्ता) फाउण्डेशनका अन्य पदाधिकारीहरू छन् ।
यो उपलब्धिले फाउन्डेशनको पारदर्शिता, विश्वसनीयता र दीर्घकालीन प्रभावकारिता थप सुदृढ बनाउने विश्वास गरिएको छ। अब दाताहरूले कर कटौतीको सुविधा पाउने भएकाले फाउन्डेशनका परियोजनाहरूमा आर्थिक स्रोत जुटाउन सहज हुने एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले जानकारी दिए।
फाउण्डेशनले अष्ट्रेलियाका ACT, NSW, NT, QLD, SA, TAS, VIC, र WA राज्यहरूमा आर्थिक रूपमा कमजोर व्यक्ति, आप्रवासी, शरणार्थी, बेघर हुने जोखिममा परेका तथा अपांगता भएका समुदायका लागि सहायता र सहयोग गर्दै आएको छ।
सन् २०२५ जुलाई १ देखि एनआरएनए अष्ट्रेलियाका सबै परोपकारी कार्यक्रमहरू फाउन्डेशनमार्फत सञ्चालन गरिने तयारी भइरहेको छ। यससँगै समुदायका लागि अझ संगठित, प्रभावकारी र दिगो पहलहरू अघि बढाउने अध्यक्ष पोखरेलले बताए।
थप जानकारीका लागि: ACNC वेबसाइटमा फाउन्डेशनको प्रोफाइल हेर्नुहोस्।