एन्जाद्वारा नेपाल पत्रकार महासंघकी अध्यक्ष शर्मालाई अष्ट्रेलियामा सम्मान

एन्जाद्वारा नेपाल पत्रकार महासंघकी अध्यक्ष शर्मालाई अष्ट्रेलियामा सम्मान
नेपालआईज
२८ चैत २०८१ २१:५८

सिड्नी – नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले विचारधारा वा राजनीतिक व्यवस्थाको नाममा सञ्चारमाध्यम र पत्रकारमाथि गरिने कुनै पनि प्रकारको आक्रमण स्वीकार्य नहुने स्पष्ट पारेकी छन्।

शुक्रबार सिड्नीमा अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसिएसन (एन्जा) द्वारा आयोजित ‘स्वागत तथा सम्मान’ कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले लोकतान्त्रिक शासन व्यवस्थामा मात्र प्रेस स्वतन्त्रता सुनिश्चित हुने धारणा व्यक्त गरिन्। “कुनै पनि आन्दोलन वा व्यवस्था जुनसुकै नाममा होस्, प्रेसमाथिको हमला अनुचित र निन्दनीय छ,” उनले भनिन्।

अध्यक्ष शर्माले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजसंस्थाको समर्थनमा गरिएको प्रदर्शनका क्रममा एक श्रमजीवी पत्रकारलाई जलाएर हत्या गरिएको तथा अन्य सञ्चारगृहमा नियोजित रूपमा तोडफोड गरिएको घटनालाई स्मरण गर्दै महासंघ त्यसविरुद्ध चरणबद्ध आन्दोलनमा रहेको जानकारी दिइन्।

उनले थप भनिन्, “तीनकुने घटनामा पत्रकार र मिडियालाई प्रत्यक्ष रूपमा लक्षित गरिएको छ। महासंघले त्यस दिनदेखि नै विरोधका कार्यक्रमहरू थालेको छ, र आन्दोलन हालसम्म पनि जारी छ।”

कार्यक्रममा अध्यक्ष शर्माले प्रवासमा रहेका पत्रकारहरूले चुनौतीपूर्ण परिस्थितिमा पनि समुदाय र मुलुकलाई सुसूचित राख्ने कार्य गरिरहेको उल्लेख गर्दै उनीहरूको योगदानको कदर गर्न समाजले कन्जुस्याइँ गर्नु नहुनेमा जोड दिइन्। साथै, एन्जा र महासंघबीचको सहकार्यलाई आगामी दिनहरूमा अझ मजबुत बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याइन्।

कार्यक्रम एन्जाका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गोरखापत्र संस्थानका निमित्त प्रधानसम्पादक शिव भट्टराई, बोर्ड अफ डाइरेक्टर सचिन पोखरेल, देशान्तर पब्लिकेशनका अध्यक्ष केबी राणा, एभिन्यूज टेलिभिजनका कानुनी सल्लाहकार गणेश केसी, एन्जाका संस्थापक अध्यक्ष हेमन्त काफ्ले, सल्लाहकार डिल्ली आचार्य, डा. राजु मानन्धर, कानुनी सल्लाहकार सम्शेरसिंह थापा लगायतले पत्रकारिता क्षेत्रमा देखा परेका चुनौतीहरू र प्रवासमा सञ्चालित सामुदायिक पत्रकारिताको भूमिकामाथि आफ्ना विचार व्यक्त गरेका थिए।

कार्यक्रममा महासंघकी अध्यक्ष शर्मा लगायत नेपालबाट आएका अग्रज पत्रकारहरूलाई सम्मानपत्र र प्रशंसा प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर