न्यूक्यासल नजिक पोर्ट स्टेफेन्स बीचमा एक नेपाली युवाको डुबेर मृत्यु, अर्का एकको अवस्था गम्भीर

न्यूक्यासल नजिक पोर्ट स्टेफेन्स  बीचमा एक नेपाली युवाको डुबेर मृत्यु, अर्का एकको अवस्था गम्भीर
नेपालआईज
२ वैशाख २०८२ १२:४८

सिड्नी – अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित पोर्ट स्टेफेन्सको शोल बेस्थित जेनिथ समुद्र किनारमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली युवाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर अवस्थामा रहेका छन्।

सोमबार दिउँसो ३ बजेभन्दा केहीअघि दुई जना पौडी खेलाडी डुब्न थालेको खबर आएपछि आपतकालीन उद्धार टोली घटनास्थलमा पुगेको थियो। साथीहरू र केही सर्वसाधारणको सहयोगमा ती दुई युवालाई समुद्रबाट निकालिएको थियो। प्रहरीले समेत सहयोग पुर्‍याउँदै सीपीआर (कार्डियो पल्मोनरी रेससिटेसन) दिएको थियो।

२४ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको न्यू साउथ वेल्स प्रहरीले जनाएको छ। अर्का २५ वर्षीय युवकलाई गम्भीर अवस्थामा जोन हन्टर अस्पताल पुर्‍याइएको छ। प्रहरीका अनुसार दुवै युवक नेपाली नागरिक हुन्।

सर्फ लाइफ सेभिङ न्यू साउथ वेल्सका राज्य ड्युटी अफिसर ग्लेन डन्क्लीका अनुसार ती युवकहरू समुद्री छालमा खुट्टा चिप्लिएर फसेका थिए। उनले भने, “आजको समुद्री अवस्था निकै खराब थिएन, तर क्षेत्रमा धेरै ‘रिप करेन्ट’ (गहिरो छाल) हरू थिए, जुन अनुभव नभएका व्यक्तिका लागि खतरनाक हुन सक्छ।”

उनले थपे, “समुद्र किनार अप्रशिक्षित व्यक्तिका लागि थिएन र त्यहाँ कुनै सुरक्षा गस्ती पनि थिएन। हामीले देख्न नसकेकालाई बचाउन सक्दैनौं भन्ने पुरानो भनाइ यहाँ लागू हुन्छ।”

हण्टर सर्फ लाइफ सेभिङका अध्यक्ष हेन्री स्क्रटनका अनुसार, जेनिथ बीच दृश्यमा सुन्दर भए पनि त्यहाँ गहिरो करेन्ट हुने गर्छ। उनले भने, “यो ठाउँ सर्फिङका लागि लोकप्रिय हो, तर सामान्य व्यक्तिले यहाँ पौडी खेल्दा जोखिम हुन सक्छ।”

उनले सबैलाई आफ्नो क्षमता अनुसार निर्णय गर्न आग्रह गर्दै भने, “यदि तपाईं अनुभवी हुनुहुन्न भने, यस्तो समुद्रमा पौडी खेल्ने प्रयास नगर्नुहोस्।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर