सिड्नी – अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित शोएल बेको जेनिथ समुद्र किनारमा नयाँ वर्ष २०८२ को दिन, अर्थात् २०२५ अप्रिल १४ मा डुबेर ज्यान गुमाएका २४ वर्षीय नेपाली युवक राजकुमारको शव स्वदेश पठाउन सहयोगको अपील गरिएको छ।
राजकुमारकी आफन्त सखीना अधिकारी केसीले आफ्ना काकाका छोराको शव नेपाल पठाउन आर्थिक सहयोग जुटाइरहेको जनाएकी छन्। “राजकुमार केवल उज्यालो भविष्यको सपना बोकेर अष्ट्रेलिया आएका एक युवा मात्र होइनन्, उनी एक असल छोरा, दयालु र मृदुभाषी व्यक्ति थिए,” सखीना लेख्छिन्। दुर्भाग्यवश, आफ्नो २५औँ जन्मदिनको अघिल्लो दिन समुद्रमा डुबेर उनको जीवन असमयमै समाप्त भयो।
राजकुमार अष्ट्रेलियामा विगत केही वर्षदेखि संघर्षरत थिए। उनी आफ्नी आमाका एकमात्र सन्तान थिए, जसले उनलाई एकल महिलाका रूपमा सात वर्षअघिसम्म माया र त्यागसाथ हुर्काएकी थिइन्। आमाले सात वर्षदेखि छोरालाई देख्न पाएकी छैनन्।
“छोरालाई अन्तिम पटक देख्न पाउनु कुनै पनि आमाका लागि अन्तिम सान्त्वना हो। त्यसैले हामी उनको शव नेपाल पठाउन आवश्यक खर्च जुटाउने प्रयासमा छौं,” सखीना अधिकारीले अपील गर्दै लेखेकी छन्।
उक्त रकम शव नेपाल पठाउन लाग्ने ढुवानी खर्च, कागजी प्रक्रिया, दूतावासको व्यवस्थापन तथा अन्त्येष्टि कार्यमा खर्च गरिनेछ।
सहयोग गर्न चाहनेहरूले यो लिङ्कमा जानुहोला।