एनआरएनए अष्ट्रेलियालाई फुटको संक्रमणबाट जोगाउन महेन्द्र लम्सालको आग्रह: एकतामा जोड

एनआरएनए अष्ट्रेलियालाई फुटको संक्रमणबाट जोगाउन महेन्द्र लम्सालको आग्रह: एकतामा जोड
नेपालआईज
१९ जेठ २०८२ ०:१७

सिड्नी / एनआरएनए ओसिनिया क्षेत्रका पूर्व क्षेत्रीय संयोजक महेन्द्र कुमार लम्सालले अष्ट्रेलियाको एनआरएनएमा पनि गुट र फुटको संक्रमण फैलिन थालेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपालदेखि युरोप हुँदै अमेरिकासम्म व्याप्त विवाद र खेमाबाजीको संस्कृति अष्ट्रेलियामा पनि प्रवेश गर्ने संकेत देखिनु दुःखद भएको लम्सालको भनाइ छ।

उनका अनुसार विगत २० वर्षको अवधिमा अष्ट्रेलियाको एनआरएनएमा चाहे आफू विजयी भए वा पराजित, पदमा बसे वा नबसे, अनेकौं वैचारिक मतभेदबीच पनि संगठनलाई एकताबद्ध राख्न निरन्तर प्रयास गरिएको थियो। क्षणिक पद वा लाभको लालचभन्दा पनि सामुदायिक एकता र आपसी सद्भावलाई प्राथमिकतामा राखिएको स्मरण गराउँदै उनले भने, “त्यो नै हाम्रो मातृभूमि, हामी आफैं र आउने पुस्ताको हितमा थियो।”

लम्सालले अष्ट्रेलियाको सरकार तथा अन्य बहुसांस्कृतिक समुदायहरूबाट एनआरएनए अष्ट्रेलियाले विगतमा पाएको सम्मान अहिले पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे। तर उनले चेतावनी दिँदै भने, “आफ्नै मर्यादा जोगाउन र भावी पुस्तालाई सशक्त मार्गदर्शन गर्न हामी बिस्तारै चुक्दै गएका छौं।”

उनको जोड थियो—प्रवासमा गरिमा कुनै व्यक्तिबाट होइन, आफ्नै कर्म, एकता र सुदृढ सामाजिक पहिचानबाट निर्माण हुन्छ। “हाम्रो प्रतिष्ठा न त कुनै भाञ्जु वा नेताको ढोकाबाट आउँछ, न कसैले उपहारमा दिन्छ,” उनले भने।

क्षणिक लाभको मोहमा नलागी दीर्घकालीन हितलाई ध्यानमा राखेर समुदायमा स्वस्थ, सहिष्णु र रचनात्मक वातावरण बनाउन उनले सबैलाई आग्रह गरे। “हामी वृत्तिगत विकास गरौं, भावी पुस्ता प्रति उत्तरदायी बनौं,” उनको भनाइ छ।

लम्सालले जोड दिँदै भने, “एनआरएनए अष्ट्रेलिया अहिलेसम्म एक छ। तर यूरोप, अमेरिका वा नेपालबाट आयात हुने गुटबन्दीले यसलाई संक्रमित नबनाओँ।” उनले अघिल्लो अधिवेशनबाट प्राप्त म्यान्डेट अनुसार काम गर्न आग्रह गर्दै आगामी कार्यकाल (२०२५–२७) को अधिवेशन र नेतृत्व चयन प्रक्रियामा सबैलाई सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्। साथै, सबैलाई समयमै सदस्यता नविकरण गर्न पनि उनले अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर