सिड्नी – अष्ट्रेलियामा धार्मिक विश्वास र सांस्कृतिक डरको नाममा गरिएको अनौठो ठगी प्रकरणले अहिले सनसनी फैलाएको छ। विशेषगरी एसियाली समुदायका वृद्ध महिलाहरूलाई लक्षित गर्दै ‘आशीर्वाद ठगी’ को नाममा भएको शृंखलाबद्ध ठगीमा संलग्न एक ६२ वर्षीय पुरुषलाई पक्राउ गरी बुधबार अदालतमा पेस गरिएको छ।
सन् २०२३ देखि सिड्नीको राइड, बुरवुड, पारामाटा र हर्नस्बी लगायतका क्षेत्रमा ८० भन्दा बढी यस्ता ठगीका घटना रिपोर्ट भएका छन्। अष्ट्रेलियन प्रहरीले जनाएअनुसार, ठगहरूले पीडितहरूलाई प्रेतबाधा र श्राप हटाउन भन्दै उनीहरूको धन र गहना संकलन गरेर मूल्यहीन वस्तुहरूसँग साट्दै आएका थिए। यसै क्रममा हालसम्म ३ मिलियन डलरभन्दा बढी रकम ठगी भएको पुष्टि भएको छ।
आध्यात्मिक ठगीको शैली
सामान्यतः वृद्ध चिनियाँ महिलाहरूलाई लक्षित गरिने यो ठगीमा, पीडितलाई उनीहरूको परिवारमा भूतप्रेतको खतरा रहेको भन्दै तर्साइन्छ। समाधान स्वरूप, ‘आशीर्वाद अनुष्ठान’को नाममा उनीहरूको धन र गरगहना एक झोलामा राख्न लगाइन्छ र पछि ती वस्तुहरू नकली वस्तुसँग साटिन्छन्।
आरोपीको गिरफ्तारी र मुद्दा
गत शुक्रवार ब्रिसबेन विमानस्थलबाट पक्राउ परेका ती व्यक्तिलाई सोमबार मजिस्ट्रेट अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट सुपुर्दगी स्वीकृत भएपछि मंगलबार उनलाई सिड्नी ल्याएर मास्कोट प्रहरी चौकीमा राखिएको छ। बुधवार उनलाई डाउनिङ सेन्टर लोकल कोर्टमा उपस्थित गराइँदैछ। उनलाई आर्थिक लाभका लागि ठगी, आपराधिक समूहमा संलग्नता, धम्की र सम्पत्ति हिनाउने अभियोग लगाइएको छ।
प्रहरीले दिए ‘धार्मिक ठगी’ बाट बच्ने ८ उपाय
- अपरिचितले नगद वा गरगहनामा पहुँच खोजे सावधान हुनुहोस्।
- ‘चिनियाँ जडीबुटी चिकित्सक’ वा ‘धार्मिक निको पार्ने’ व्यक्तिको बारेमा सोध्नेहरूबाट सजग रहनुहोस्।
- नयाँ चिनेका मानिसहरूको सुझावमा त्यस्ता व्यक्तिहरूलाई भेट्न नजानुहोस्।
- अपरिचितहरूसँग संवाद नबढाउनुहोस्, सम्भव भए स्थान छोड्नुहोस्।
- घरमा अपरिचितलाई नल्याउनुहोस्।
- उनीहरूलाई नगद वा गरगहना नदिनुहोस्।
- झोलामा पैसा वा गहना राखेर कुनै ‘ दान अनुष्ठान’ नगर्नुहोस्।
- यस्ता ठगीमा परेमा तुरुन्त प्रहरीलाई सम्पर्क गर्नुहोस् — सबै जानकारी गोप्य राखिनेछ।
प्रहरीले गैर-अंग्रेजी भाषी समुदायलाई लक्षित गर्दै ‘Language + App’ जस्ता प्रविधिबाट सहयोग उपलब्ध गराउँदै आएको छ। धार्मिक वा सांस्कृतिक भावनालाई आधार बनाई हुने ठगीविरुद्ध समुदाय सतर्क र जागरुक बन्नुपर्ने प्रहरीको आग्रह छ।