मेलबर्न/ अष्ट्रेलियामा अपराधीहरूले सामान्य मानिसहरूलाई प्रति खाता २ सय डलर जति सानो रकममा उनीहरूको बैंक खाता भाडामा लिन लगाइरहेको खुलासा भएको छ। यसले अष्ट्रेलियन फेडरल पुलिस (AFP) र अष्ट्रेलियन बैंकिङ एसोसिएसनले चेतावनी दिएको छ ।
यदि तपाईंले आफ्नो बैंक खाता भाडामा दिन वा बेच्नका लागि कुनै विज्ञापन देख्नुभएको छ वा त्यसका लागि कसैले तपाईंलाई सम्पर्क गरेको छ भने, त्यसबाट टाढै रहनुहोस्। यस्तो अवस्थामा तपाईंलाई आपराधिक गतिविधिबाट कमाएको अवैध पैसा लुकाउनका लागि प्रयोग गर्न सक्छन् प्रहरीले भनेको छ ।
प्रहरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘अपराधी सञ्जालहरूले अवैध गतिविधिबाट प्राप्त आम्दानीलाई वैध देखाउनका लागि “मनी मुल” को सहायता लिने क्रम बढ्दै गएको छ। मनी मुल भनेका ती व्यक्तिहरू हुन् जसलाई जानीजानी वा अनजानमा अवैध पैसालाई उनीहरूको व्यक्तिगत खातामा स्थानान्तरण गर्न र निकाल्नका लागि प्रयोग गरिन्छ ताकि रकम वैध देखियोस्। मनी मुलले आफ्नो खाता भाडामा दिन वा बेच्नका लागि केही रकम पनि लिन सक्छन्।’
यो हेर्दा सामान्य लागे पनि बैंक खाता भाडामा दिनु, किन्नु वा बेच्नु गैरकानूनी हो। मनी लाउन्ड्रिङ (अवैध रकम शुद्धीकरण) एक गम्भीर आपराधिक कार्य भएकोले सचेत रहन प्रहरीले सर्वसाधरणलाई अपिल गरेको छ ।