नेपाल आइज संवाददाता । अष्ट्रेलिया सरकारको सामुदायिक विकास अनुदान कार्यक्रमबाट सिड्नीमा नेप्लिज सामुदायिक केन्द्र निर्माणका लागि १ मिलियन डलर अनुदान प्रदान गरिने भएको छ । नेप्लिज अष्ट्रेलियन एसोसिएसन (एनएए) ले सामुदायिक केन्द्रका लागि प्राप्त हुने १ मिलियन अनुदानका लागि सबै प्रशासनिक प्रक्रियाहरू पूरा भएको जनाएको छ ।
एनएएले २५ जनवरी २०२२ मा अष्ट्रेलिया सरकारको पूर्वाधार, यातायात, क्षेत्रीय विकास र सञ्चार विभागसँग अनुदानका लागि सम्झौतामा हस्ताक्षर गरेको थियो । एनएएले अहिले जर्गस रिभर काउन्सिलसँग आयोजना निर्माणका लागि काम गरिरहेको तथा निर्माण कार्य सन् २०२३ को मार्च/अप्रिलमा सम्पन्न भई सामुदायिक केन्द्र सञ्चालनमा आउने अपेक्षा गरेको छ ।
लिवरल पार्टीका ब्यांकका लागि सदस्य रहेका डेभिड कोलम्यानले लिवरल सरकारले नेपाली समुदायका लागि सामुदायिक केन्द्र निर्माणका लागि १ मिलियन दिने घोषणा गरेका थिए । ब्यांकका सांसद डेभिड सन् २०१३ मा ब्यांक, न्यू साउथ वेल्सबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनी २०१६ र २०१९ मा पुन: निर्वाचित भएका थिए । उनले भुकम्प तथा कोभिड समयमा समेत नेपाली समुदायलाई सहयोग गरेका थिए ।