सिड्नी । अस्ट्रेलियाको न्यू साउथ वेल्स सरकारले महामारीको समयमा काम गरेका स्वास्थ्यकर्मीहरूलाई ३ हजार डलर ‘प्रशंसा’को रुपमा प्रदान गर्ने भएको छ । यसका साथै सार्वजनिक सेवामा काम गर्नेहरुको ज्यालाको सीमा बढाइने राज्य सरकारले घोषणा गरेको छ ।
लिभरपुल अस्पतालमा न्यू साउथ वेल्सका प्रिमियर डोमिनिक पेरोटेटले यसको घोषणा गरेका हुन् । विगत दुई वर्षदेखि गर्दै आएको योगदानको कदर गर्दै स्वास्थ्यकर्मीहरुलाई ३ हजार डलर प्रदान गर्ने उनले बताए । पेरोटेटले उक्त भुक्तानीले स्वास्थ्यकर्मीहरूमा फ्लूको मौसममा परेको तनावलाई पनि सम्बोधन गर्ने बताए ।
इम्पलोई रिलेसन्स मन्त्री डेमियन टुडेहोपले उक्त भुक्तानी भनेको सबैभन्दा अगाडी बढेर गरेको कामका लागि रहेको जनाए ।
भुक्तानीले न्यू साउथ वेल्स स्वास्थ्य सेवाले खटाएका प्यारामेडिकहरू, मिडवाइफहरू, क्लिनरहरू र अन्य सबै स्थायी कर्मचारीहरूलाई समेट्छ ।
सार्वजनिक सेवाको पारिश्रमिक सीमा पनि आगामी वर्ष ३.५ प्रतिशत पुर्याउनुअघि यो आर्थिक वर्षमा ३ प्रतिशत पुर्याइने भएको छ ।
यसैबीच पेरोटेटले आगामी चार वर्षमा डाक्टर र नर्सहरू सहित १० हजार भन्दा बढी कर्मचारीहरू भर्ती गर्ने घोषणा गरे ।