कोडिङ र प्रोग्रामिङमा दक्षता बढाए अस्ट्रेलियामा रोजगारीको समस्या नहुने आइटी विज्ञहरूको भनाई

कोडिङ र प्रोग्रामिङमा दक्षता बढाए अस्ट्रेलियामा रोजगारीको समस्या नहुने आइटी विज्ञहरूको भनाई
नेपालआईज
२० असार २०७९ १०:३६


सिड्नी । अस्ट्रेलियामा यतिखेर दक्ष जनशक्तिको माग अत्यन्त बढेको गएको छ। विभिन्न क्षेत्रमा जस्तै गरेर सफ्टवेयर कोडिङमा दक्षता भएकालाई पीआर (स्थायीबसोबास)को साथै करिअर विकास गर्न पनि सजिलो रहेको सिड्नीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।

सिड्नीमा रहेका नेपाली युवाहरूको संजालले सुरु गरेको व्यावसायिक सञ्जाल ‘आईटी हब’मा आयोजित ‘पीआर फर प्रोग्रामर’ ‘मिटअप’मा वरिष्ठ सफ्टवेयर ईन्जिनियर एवम् माईग्रेसन एजेन्टहरूले सीप विकास गरेका विद्यार्थीलाई अस्ट्रेलियामा करिअर र बसोबास सहज रहेको बताएका हुन्। उनीहरूले विद्यार्थी तथा कोडिङ/प्रोग्रामिङको क्षेत्रमा रोजगारी तथा करिअर बनाउन दक्षता बनाउन सके अस्ट्रेलियामा काम, करिअर र भिजाको समस्या नरहेको अनुभव बाँढे।

सिड्नीको रकडेलमा सम्पन्न भएको ‘मिटअप’मा गेशन मानन्धरले अष्ट्रेलियाका धेरै आईटी कम्पनीहरूले पेशागत दक्षता भएकालाई अस्ट्रेलियामा ‘स्पोन्सर्ड भिजा’ सहित रोजगारीको अवसर दिने बताए। अस्ट्रेलियाको सफ्टवेयर उद्योगमा लाग्दाका सुरूवाती सङ्घर्ष सुनाउँदै उनले विद्यार्थीहरूलाई सम्बन्धित सीपसँगै ‘नेटवर्क’ बनाउन र बढाउन आग्रह गरे। उनी भन्छन्, ‘कुनै पनि कम्पनीमा रिफरलबाट आफ्नो रेज्युम पठाउन सक्ने अवस्था हुनु भनेको अन्तर्वार्ताको अवसर पाउनु हो।’ अष्ट्रेलियाका रोजगारदाता कम्पनी तथा ‘रिक्रुटमेन्ट एजेन्सी’ले जागिरका लागी दिने आवेदनहरू ‘सफ्टवेयर’को माध्यमबाट आवेदन दिनेहरूबाट उपयुक्त मानिएकाको मात्र ‘रेज्युम’ छान्ने गर्दछन्।

सिड्नीको एक प्रसिद्ध कम्पनीमा वरिष्ठ सफ्टवेयर ईंन्जिनियरका रूपमा कार्यरत उज्ज्वल ओझाले प्रोग्रामिङ र सफ्टवेयर ईंजिनियरहरुलाई अष्ट्रेलियाका कम्पनीहरूले अस्ट्रेलिया बाहिर (नेपाल)बाट समेत ‘भिजा स्पोन्सर’ गरेर ल्याउने गरेको बताए। उनले यस क्षेत्रमा लागेकाहरूले आफ्नो सीप विकास गर्ने र आफूलाई दक्ष बनाउने हो भने अवसर र संभावनाको कमी नरहेको भन्दै सहभागीहरूलाई ‘प्रोग्रामिङ’ साथै ‘कम्युनिकेशन’को सीप पनि बढाउन अनुरोध गरे। ‘मिटअपमा’ सिड्नीका अनुभवी माईग्रेसन परामर्शदाता प्रकाश पन्थीले ‘डेभलोपर/प्रोग्रामर’हरुको लागी ‘स्किल्ड माईग्रेसन’का लागी धेरै विकल्प र अवसर रहेको बताए।

तिलिचो कन्सल्टिङ ग्रुपमा आबद्ध उनले आइटी पढेका विद्यार्थीहरुका लागी रोजगारदाताबाट ‘स्पोन्सर्ड भिजा’ एउटा ठुलो अवसर भएको बताए। त्यसबाहेक पनि अष्ट्रेलियाले हरेक वर्ष छुट्याउने पीआर भिजाको कोटामा ‘डेभलोपर/प्रोग्रामर’हरुको लागी ठुलै सङ्ख्या तोकिने गरेको छ। ‘‘डेभलोपर/प्रोग्रामर’हरुको लागी पीआर र भिजा गाह्रो छैन, धेरै विकल्पहरू उपलब्ध छन् तर स्किल एसेसमेन्ट र अवसरका अरू पक्षबारे उचित परामर्शका साथ अगाडी भने बढ्नुपर्छ’, उनले भने। कार्यक्रममा सहभागी ‘डेण्टेड कोड’का वरिष्ठ सफ्टवेयर ईन्जिनियर तथा प्रशिक्षक प्रेमप्रसाद आचार्यले आफूले आफ्नो रोजगारदाताले ‘भिजा स्पोन्सरसिप’ दिएर अस्ट्रेलियाको पीआर भएको भन्दै दक्ष प्रोग्रामरको अस्ट्रेलियामा ठुलो माग रहेको बताए।

‘भिजा स्पोन्सर’ पाउनको लागी आफूले काम गर्ने कम्पनीसँग भने आफैले कुरा गर्न भने डराउन नहुने उनको भनाई छ। ‘दक्ष र अनुभवी कर्मचारी कम्पनीले गुमाउन चाहँदैन, तर उनीहरूलाई भिजा, पीआरको बारेमा थाहा नभईरहेको पनि हुनसक्छ, त्यसैले आफूले काम गर्ने कम्पनीको व्यवस्थापनसँग यसबारे कुरा गर्न चुक्नु हुँदैन’ आचार्यले भने। उनले रकडेलमा सञ्चालनमा ल्याएको ‘डेण्टेड कोड’ले आईटी पढ्ने विद्यार्थीलाई सफ्टवेयर ईंजिनियरिंग/प्रोग्रामिङको रोजगारमुलक तालिम (बुटक्याम्प) सञ्चालन गर्दै आइरहेको छ। ‘बुटक्याम्प’ सकेका धेरै विद्यार्थीहरूले अष्ट्रेलियाका निजी तथा सरकारी संस्थामा ‘डेभेलोपर’ तथा सफ्टवेयर ईन्जिनियरको रूपमा जागिर पाईसकेका छन्।

सिड्नीमा सक्रिय नेपाली युवाहरूको संजालले सुरु गरेको व्यावसायिक सञ्जाल ‘आईटी हब’ले अस्ट्रेलियामा आईटीको क्षेत्रमा अवसर खोजिरहेकाहरूलाई जागिर पाउन सहयोग गर्दै आइरहेको छ। व्यावसायिक सञ्जाल निर्माण गरेर ‘आईटी अब’ले अन्तर्राष्ट्रिय विद्यार्थी तथा आइटीको क्षेत्रमा ‘करिअर’ बनाउन चाहने जो कसैलाई पनि उपयुक्त तालिम, सीप विकास साथै रोजागारदातासम्म पुग्ने अवस्था बनाउन आफूहरू लागिरहेको ‘हब’का संयोजक मदनमणि अधिकारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर