सिड्नी । सिड्नी स्थित एभरेष्ट टिभीको आयोजनामा अस्ट्रेलियामा रहेका नेपालीहरूले भोग्ने गरेका विविध समस्या र यसका समाधानका विषयमा सरोकारबालाहरूसँग अन्तर्क्रिया गरिने भएको छ ।
अस्ट्रेलियामा नेपालीको संख्या बढेसँगै विभिन्न किसिमका समस्या पनि बढ्न थालेको छ । यी समस्याका समाधानका विषयमा ठोस योजना बनाउन टिभीले ‘Connecting Community Through Interaction’ कार्यक्रम गर्न लागेको हो । कार्यक्रम मे १३ तारिखका दिन दिउँसो १ बजे कार्यक्रम हुने आयोजकले जनाएको छ ।
नेपाली नागरिकका वास्तविक समस्या चिन्न र बुझ्न, समस्याहरू राख्न र समाधानका लागि सुझाव दिन र प्रवासमा रहेका नेपालीहरूबीचमा आपसी सौहाद्रताको विकास गर्नका लागि यो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा सहभागी हुन चाहनेले अप्रिल ३० तारिखभित्र अनिवार्य दर्ता गराउन आयोजक संस्थाका संयोजक तिर्थ खतिवडाले जानकारी दिएका छन् ।
एक सय ५० जना क्षमताको हलमा कार्यक्रम हुने यसका लागि हालसम्म एक सय २० जनाले नाम दर्ता गराइसकेका छन् । कार्यक्रममा उपस्थित हुन नसक्नेलाई अडियो वा भिडियोमार्फत् everestnewsaus@gmail.com मा इमेल पठाएर समस्या राख्न अनुरोध गरिएको छ ।
अस्ट्रेलियामा नेपालीहरू विशेष गरी विद्यार्थीका रूपमा आउने गर्छन्् । थोरै व्यक्ति मात्र वर्किङ भिसा वा स्किल्ड माइग्रेन्टका रूपमा आउने गरेको तथ्यांक छ । उनीहरूले कुनै कारणवश समस्याहरू भोगेको हुन सक्ने भएकाले समस्याहरू समाधानका लागि नेपाली दूतावास, कन्सुलेट जेनेरल अफिस, गैरआवासीय नेपाली संघ, एजुकेशन एजेन्ट, कलेज, विभिन्न नेपाली संघसंस्थाहरू, नेपाली कम्युनिटी मिडियालगायत सरोकारबालाबीच अन्तक्र्रिया हुनेछ ।
कार्यक्रम सम्पन्न भएको केही दिनपछि सर्वेक्षण गर्न गरिने जनाइएको छ ।