चीन । चीनको हांगझाउमा जारी एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी चयन भएको हो ।
नेपाल र भारत बीचको क्वार्टरफाइनल खेल भोलि मंगलबार बिहान ६ः४५ मा सुरु हुनेछ । गत महिना एसिया कपमा भारतसँग पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपालले एक महिनाको अन्तरमा टी–ट्वान्टी अन्तर्राष्ट्रियसमेत खेल्ने भएको छ । प्रतियोगितामा वरियताको आधारमा भारतले सोझै क्वार्टरफाइनलमा स्थान पाएको हो । नेपाल समुह ए को विजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गरेको हो ।
नेपालले मंगोलिया र माल्दिभ्सलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको थियो । भारतको एसियन गेम्स टिमको कप्तानी रुतुराज गायकवाडले गर्ने छन् । टिममा तिलक वर्मा, राहुल त्रिपाठी, रिंकु सिंह, यसस्वी जैसवाल, रभी बिस्नोई, आभेस खान, आकाश दिप, अर्शदिप सिंह, वासिंगटन सुन्दर, शाहबाज एहमद, शिभम दुवे, जितेश शर्मा, प्रभसिमरन सिंह छन् । भारतले एसियन गेम्सका लागि दिग्गज खेलाडी रहेको मुख्य क्रिकेट टोलीलाई नपठाई दोश्रो टोलीलाई चीन पठाएको हो ।