सिड्नी – अस्ट्रेलियालीहरूले कति तलबलाई ‘राम्रै’ मान्छन् भन्नेबारे गरिएको नयाँ अध्ययनले फरक पुस्ताबीच ठूलो भिन्नता देखाएको छ।
फईन्डर द्वारा गरिएको सर्वेक्षणअनुसार, औसत अस्ट्रेलियालीले वार्षिक १ लाख ५२ हजार ७ सय ७५ डलर आम्दानीलाई राम्रो तलब मान्छन्। तर उमेर समूहअनुसार तलब अपेक्षा निकै फरक देखिएको छ।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (ABS) का अनुसार, पूर्णकालीन कर्मचारीहरूको औसत वार्षिक तलब एक लाख डलर भन्दा थोरै बढी छ, जुन माध्यमिक तलब ८८ हजार डलर भन्दा १४ प्रतिशत बढी हो। Finder का वित्तीय विशेषज्ञ सारा मेगिन्सन भन्छिन्, “बढ्दो मुद्रास्फीति र घरजग्गाको मूल्य वृद्धिले आर्थिक स्थायित्वको परिभाषा परिवर्तन गरेको छ।” पहिले एक लाख डलरले आरामदायी जीवनयापन सम्भव थियो, तर अहिले यो आधारभूत आवश्यकताका लागि मात्र पर्याप्त भएको बताइन्छ।
राज्य अनुसार पनि तलब अपेक्षामा ठूलो अन्तर देखिएको छ। न्यू साउथ वेल्स (NSW) का बासिन्दाहरूले १ लाख ६८ हजार १ सय ६० डलर लाई राम्रो तलब मान्छन् भने, साउथ अस्ट्रेलियामा सबैभन्दा कम अपेक्षा एक लाख ४० हजार ३ सय ३४ रहेको छ। अन्य राज्यहरूमा, क्विन्सल्यान्ड का बासिन्दाहरूले १ लाख ४८ हजार ७ सय ७९ डलर , भिक्टोरियालीहरूले १ लाख ४८ हजार ३ सय ८ डलर , र पश्चिमी अस्ट्रेलियालीहरूले १ लाख ४७ हजार ४ सय ८ डलर तलबलाई राम्रो मान्ने देखिएको छ।
त्यस्तै, सर्वेक्षणमा ‘राम्रै तलब’ बाहेक आरामदायी जीवनयापनका लागि आवश्यक वार्षिक तलब कति हो भन्ने विषयमा पनि फरक पुस्ताबीच ठूलो अन्तर देखियो।
यो अध्ययनले देखाएको छ कि बढ्दो जीवनयापन खर्चका कारण युवा पुस्ताले पुराना पुस्ताभन्दा धेरै उच्च तलब आवश्यक पर्ने धारणा बनाएका छन्। विशेष गरी ठूला शहरहरूमा एक लाख डलरको तलब अब ‘आरामदायी’ नभई, न्यूनतम आवश्यकताका लागि मात्र पुग्ने स्तरमा पुगेको छ।