अस्ट्रेलियाका रोवन रिमाल एसिया युथ कपमा छनोट, १३ वर्षमै अन्तर्राष्ट्रिय मैदानमा

अस्ट्रेलियाका रोवन रिमाल एसिया युथ कपमा छनोट, १३ वर्षमै अन्तर्राष्ट्रिय मैदानमा
नेपालआईज
२९ चैत २०८१ ८:२६


१३ वर्षे उमेर, अनुहारमा  सालिनता र  सरलता, मनमा दृढ आत्मविश्वास बोकेका न्यू साउथ वेल्सको अल्बरी निवासी रोवन रिमाल कक्षा ८ मा अध्ययनरत छन्। उमेरले  सानै देखिएपनि  उनले हासिल गरेको उपलब्धि कतिपयका लागि सपना मात्रै हो—अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा प्रतिनिधित्व गर्ने।

आगामी सेप्टेम्बर १७ देखि २० सम्म सिंगापुरमा आयोजना हुने “एसिया युथ कप”—एशियाकै सबैभन्दा ठूलो युवा फुटबल प्रतियोगितामा उनी अस्ट्रेलियाको Murray United Football Club बाट प्रतिनिधित्व गर्दै छन्। यस्तो अवसर पाउँदा उनी अत्यन्त उत्साहित छन् र यसलाई आफ्ना सपनाहरू साकार गर्ने सुरुआतका रूपमा लिएका छन्।

रोवनले पाँच वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेका थिए। उनले स्थानीय क्लबमार्फत फुटबल यात्राको थालनी गरे र पछिल्लो चार–पाँच वर्षदेखि क्षेत्रीय स्तरमा नियमित रूपमा प्रतिस्पर्धा गर्दै आएका छन्। हाल उनी Albury Hotspurs FC, Murray United FCAWFA – Albury Wodonga Football Association का सदस्य खेलाडी हुन्। फुटबलप्रतिको निरन्तर अभ्यास, लगनशीलता र अनुशासनका कारण उनी आज यो अन्तर्राष्ट्रिय अवसरसम्म आइपुगेका हुन्।

यस यात्रामा उनका अभिभावक र प्रशिक्षक उनको बलियो आधार बनेका छन्। “बुबा–आमाले ‘तिमी खेल, हामी तिमी सँग छौं’ भन्ने शब्दले नै मलाई ऊर्जा दिन्छ,” उनी भावुक हुँदै भन्छन्। प्रशिक्षकको साथ, मार्गदर्शन र प्रशिक्षणको महत्त्वलाई पनि उनी बराबरी श्रेय दिन्छन्। मैदानमा रोवनको आत्मविश्वास सदैव स्थिर देखिन्छ। “हार्दा पक्कै दुःख लाग्छ, तर हिम्मत लिएर मैदानमा छिर्छु,” उनी भन्छन्। आठ वर्षको उमेरमै Murray United FC ले उनलाई पहिचान गरेर अवसर दिएको प्रसंग अझ उल्लेखनीय छ।

भोलिको सपना उनले ठूलो देखेका छन्—विश्वकप खेल्ने। अहिले उनी देशका प्रतिष्ठित प्रतियोगितामा सहभागी हुने दिशातर्फ अग्रसर छन्। “खेल्दै जाँदा हेरौं, कहाँ पुगिन्छ,” भनी उनी आत्मविश्वासी देखिन्छन्। भविष्यप्रति उनी यथार्थवादी छन् तर लक्ष्यप्रति पूर्ण समर्पित। अन्य युवा खेलाडीलाई उनले आफूमाथि विश्वास राख्न, खेलमा लगाव राख्न र निरन्तर अभ्यास गर्न सुझाव दिन्छन्—सफलता पछि आफैँ आउने उनको भनाइ छ।

रोवन रिमाल केवल अस्ट्रेलियामा बस्ने नेपाली समुदायका लागि मात्र होइन, नेपालका सम्पूर्ण युवाका लागि प्रेरणाको स्रोत हुन्। उनको उमेरमै देखिएको जोश, अनुशासन र लक्ष्यप्रतिको समर्पणले उनलाई कुनै दिन विश्वकपको मैदानसम्म पुर्‍याउनेमा शंका छैन। सपना अझै बाँकी छ-थुप्रै मैदान पार गर्दै, अनगिन्ती अवसर समात्दै उनले त्यो सपना पुरा गर्नेछन्, देश र समुदायको नाम उज्यालो पार्दै।  

रोवनका प्रिय खेलाडी क्रिस्टियानो रोनाल्डो हुन्। अनुशासन, मेहनत र व्यक्तित्वका कारण रोनाल्डो उनलाई प्रेरणाका स्रोत लाग्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर