छत्र शंकर –
जब समुद्रको छालले आफ्नो गति बदल्दै थियो, जीवन र मृत्युलाई छुट्याउने सीमारेखा चिर्दै दुई नेपाली युवाहरू न्यूक्यासल क्षेत्रको शोल बे समुद्रकिनारमा डुब्न लागेका थिए। त्यो क्षणमा न कुनै पूर्व तयारी थियो, न कुनै सुरक्षा उपकरण। तर त्यही बेला, तीन जना अष्ट्रेलियन किशोरहरू—Irrawang High School का विद्यार्थीहरूले—उनीहरूका लागि भगवानझैँ प्रकट भई नसोचेको वीरता देखाए।
उनीहरूले ज्यानको प्रवाह नगरी ती नेपाली युवाहरूलाई तानेर किनारासम्म ल्याए। यो सामान्य साहस थिएन—यो थियो मानवता, दया र मित्रताको उच्चतम व्यवहार।
यद्यपि प्रयास असाधारण थियो, दुर्भाग्यवश तीमध्ये एक नेपाली युवकको ज्यान जोगाउन सकिएन। अर्को युवालाई भने यिनै किशोरहरूको चमत्कारी उद्धारले नयाँ जीवन दिएको छ। त्यसैले आज यी किशोरहरूलाई ‘जीवित भगवान’ भन्न नेपाली समाजले कन्जुस्याई गर्नुहुँदैन।
स्थानीय समाचार संस्था The Newcastle News सँग कुरा गर्दै ती किशोरहरूले भने, “सबै कुरा क्षणभरमै भयो। हामीले डुबिरहेको देख्यौँ र सोच्नै नदिई समुद्रमा हाम फाल्यौँ।”उनीहरूको यो सरल वाक्यभित्र समेटिएको छ—त्यो अद्वितीय वीरता, जुन शब्दले भन्दा अनुभूति गरेर मात्र बुझ्न सकिन्छ।
न्यूक्यासलमा रहेका नेपाली समुदायका अगुवा बीर राईले उनीहरूलाई सम्मानपूर्वक नमन गर्दै भने, “हामीले त भगवान देख्यौँ—मानव रूपमा।” समुदायले ती किशोरहरूको सम्मानमा विशेष कार्यक्रमको आयोजना गर्ने तयारी समेत गरिरहेको छ। न्यूक्यासलका किशोर शाही भन्छन्, “उनीहरू रियल हिरो हुन्, समुदायले सम्मान गर्नैपर्छ।”
जीवन र मृत्युको त्यो सीमारेखामा तीन किशोरहरूको एउटा निर्णय—एक उदात्त आत्मा बचाउने निर्णय—आज हामीलाई सम्झाइरहेको छ: साहस उमेरले होइन, हृदयले तोकिन्छ।
यी किशोरहरू केवल उद्धारकर्ता होइनन्। उनीहरू मित्रता, सहानुभूति र मानवताको जीवित प्रतीक बनेका छन्। यही कारण उनीहरू आज ‘रियल हिरो’ मात्र होइन—हाम्रो लागि ‘जीवित भगवान’ हुन्।