गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले आगामी जुलाई २६ तारिखमा नयाँ कार्यकालका लागि निर्वाचन गर्ने घोषणा गरेको छ। सिड्नीमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष अनिल पोखरेलले निर्वाचनको जानकारी दिएका हुन्।
संघले राष्ट्रिय निर्वाचन संयोजकमा डिल्ली ढकाललाई र उपसंयोजकमा राजु उपाध्यायलाई नियुक्त गरेको छ। साथै, विभिन्न राज्यमा निम्न संयोजकहरू तोकिएका छन्:
- न्यूसाउथवेल्स — राजु मानन्धर
- भिक्टोरिया — हेम दुलाल
- क्वीन्सल्याण्ड — सुरेश खत्री
- साउथ अष्ट्रेलिया — अंकुर उपाध्याय
- वेष्टर्न अष्ट्रेलिया — रविन वर्तौला
- तास्मानिया — कन्चन अर्याल
- एसिटी — कृष्ण सुवेदी
- नर्दन टेरेटोरी — दिनेश सापकोटा
अध्यक्ष पोखरेलका अनुसार निर्वाचन आयोग र संघले आवश्यक अन्य सदस्यहरू पनि थप गर्ने छन्।
नयाँ संरचना : अब उपाध्यक्ष राज्य संयोजकबाट होइन
यस वर्षको निर्वाचनसँगै एनआरएनए अष्ट्रेलियामा महत्वपूर्ण संरचनात्मक परिवर्तन गरिएको छ। अघिल्लो कार्यकालसम्म राज्य संयोजकहरूले उपाध्यक्षको भूमिका पनि निर्वाह गर्दै आएका थिए, तर यो प्रथालाई हटाइएको छ।
त्यस्तै, बोर्ड सदस्यको संख्या १७ बाट बढाएर १९ जनामा पुर्याइएको छ। नयाँ थपिएका दुई पदहरूमा उपाध्यक्ष र प्रिन्सिपल ग्रान्ट अफिसर समावेश छन्।
सदस्यता शुल्कमा समायोजन
संघले साधारण सदस्यता शुल्क २५ डलरबाट बढाएर ३० डलर पुर्याएको छ भने आजीवन सदस्यता शुल्क २५० डलर तोकेको छ।
पारदर्शिता र व्यवस्थापन सुधारमा जोड
पत्रकार सम्मेलनमा अध्यक्ष पोखरेलले सदस्य विवरण अद्यावधिक प्रक्रिया र निर्वाचनको पारदर्शितामाथि विशेष जोड दिएका थिए। आजीवन सदस्यहरूले प्रत्येक निर्वाचनमा आफ्नो विवरण नवीकरण गर्नु पर्ने व्यवस्था व्यक्तिगत ठेगाना वा सम्पर्क विवरण परिवर्तन भएको अवस्थामा अद्यावधिक गर्न सजिलो होस् भन्नका लागि गरिएको उनले स्पष्ट पारे।
यसबाहेक, एकै क्रेडिट कार्ड प्रयोग गरी अनावश्यक सदस्यता बनाउने प्रवृत्तिलाई रोक्न “एक कार्डबाट अधिकतम चार सदस्यता” को पुरानो नीति यथावत राखिएको र यसलाई अझ सुदृढ बनाउने विषयमा निर्वाचन आयोगले आवश्यक निर्णय लिने तयारी भइरहेको पोखरेलले जानकारी दिए।
नयाँ नेतृत्वको अपेक्षा
जुलाई २६ मा हुने निर्वाचनले एनआरएनए अष्ट्रेलियामा नयाँ नेतृत्वको चयन गर्नुका साथै संस्थालाई थप सुदृढ, व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।