सिड्नी/ विश्व अशान्ति र द्वन्द्वको माहोलमा छटपटाइरहेका बेला सिड्नीको प्रतिष्ठित ओपेरा हाउसबाट शान्तिको सन्देश गुञ्जिन लागेको छ। त्यो सन्देश हो-नेपाली संगीतमार्फत विश्व समुदायलाई जोड्ने एउटा विशेष सांगीतिक अभियान ‘कल्चर इन सिंक’।
यही जुन १९, बिहीबार सिड्नी ओपेरा हाउसको ‘द स्टुडियो’ मञ्चमा पहिलोपटक नेपाली कलाकारहरूले आयोजना गर्न लागेको यो सांगीतिक कार्यक्रममा नेपालसहित पाँच राष्ट्रका कलाकारहरू एउटै मञ्चमा प्रस्तुत हुँदैछन्।
यो ऐतिहासिक कार्यक्रम नेपालको सुप्रसिद्ध गिटार वादक हरी महर्जनको नेतृत्वमा आयोजना हुँदैछ भने कार्यक्रमको रचनात्मक संयोजन उनका पूर्वविद्यार्थी तथा ब्यान्ड लिडर निर्वाणा विष्टले गरेका छन्। गजेन्द्र शाहीको दीर्घ सपना र संगम प्रोडक्सनको आयोजनामा तयार पारिएको यो परियोजनाले केवल मनोरञ्जन होइन, शान्ति र मेलमिलापको गहिरो सन्देश दिने उद्देश्य राखेको आयोजकको दाबी छ।
नेपाली संगीतको इतिहासमै पहिलोपटक विश्वस्तरीय मञ्च सिड्नी ओपेरा हाउसमा नेपाली कलाकारहरूले आयोजना गर्न लागेको यस कार्यक्रममा नेपाल, अष्ट्रेलिया, मंगोलिया, इरान र भारतका कलाकारहरू सहभागी हुँदैछन्। कार्यक्रममार्फत हरी महर्जनका चर्चित रचनाहरू निर्वाणा विष्टको संगीत संयोजनमा आधुनिक र परम्परागत वाद्ययन्त्रहरूको समिश्रणसहित प्रस्तुत गरिनेछ।
कार्यक्रममा प्रस्तुति दिने कलाकारहरूको सूचीमा हरी महर्जन (गिटार), निर्वाणा विष्ट (गिटार र ब्यान्ड नेतृत्व), निकिता थापा (स्वर), उत्पल कँडेल (ढिँमे), सुसन तण्डुकार (पर्कसन), रेगन अवाले (सारोद), सविन घिसिङ (बाँसुरी), युगेन्द्र भण्डारी (ड्रम्स), डेभिड पुड्नी (पियानो), डेनियल विल्क्स (बास गिटार), देवेन रहमान (ट्रम्पेट), मह्या पनाही (तान्बूर) र बोलोर (यात्गा) जस्ता अन्तर्राष्ट्रिय कलाकारहरू रहेका छन्।
सामुदायिक भावनालाई आत्मसात गर्दै संगम प्रोडक्सनले नेपाली, अष्ट्रेलियन र अन्य बहुसांस्कृतिक संघसंस्थासँग सहकार्य गर्दै सिड्नीका उपनगरहरूमा पोष्टर वितरण, प्रत्यक्ष संवाद, तथा विश्वविद्यालयहरूसँग समन्वय गरी विद्यार्थीहरूलाई छुट सुविधा सुनिश्चित गरेको छ। नेपाली, मंगोलियन राजदूत, नेपाली महावाणिज्यदूत र एनआरएन अध्यक्ष अतिथिका रूपमा सांगीतिक कार्यक्रममा सहभागी हुँदैछन् भने भारतीय, इरानी राजदूत र न्यू साउथ वेल्सका प्रिमियरलाई समेत निमन्त्रणा पठाइएको छ।
कार्यक्रम हुनुअघि आयोजकहरूले समुदाय र युवासँग विभिन्न चरणमा छलफल गरी, युवा पुस्तालाई सिर्जनात्मक सहकार्यमा जोड्ने प्रयास गरेका थिए।
कार्यक्रमको सफलताका लागि संयोजक टोलीमा गजेन्द्र शाही (कार्यकारी निर्माता), सन्देश परियार (सामुदायिक समन्वय), सुमन ढकाल (नेपाल निर्देशक) र रुबी आर. श्रेष्ठ (अष्ट्रेलिया मार्केटिङ प्रमुख) रहेका छन्।
कार्यक्रमबारे गजेन्द्र शाही भन्छन्, “दुई वर्षअघि मैले निर्वाणालाई भनेको थिएँ-नेपाली संगीत र संस्कृतिलाई सिड्नी ओपेरा हाउससम्म लैजाऔं। आज त्यो सपना साकार भएको छ।” संगम प्रोडक्सनका रचनात्मक निर्देशक निर्वाणा विष्ट भन्छन्, “संगम भन्नुको अर्थ हो-संगम, संस्कृतिको संगम। पाँच देशको संगीत एउटै मञ्चमा मिसिँदा त्यसले विश्वभर शान्तिको सन्देश दिन सक्छ।” गिटार वादक हरी महर्जन भन्छन्, “ओपेरा हाउसमा उभिन पाउनु गौरवको कुरा हो। म ‘स्वणिगा’ अर्थात् काठमाडौंको आत्मालाई लिएर यो मञ्चमा उभिन पाउँदा गर्व गर्छु।”
आगामी पाँच वर्षभित्र संगम प्रोडक्सनले ‘कल्चर इन सिंक’ लाई तीन महादेशका प्रमुख शहरहरूमा पुर्याउने, एक अनलाइन संगीत विरासत प्रयोगशाला सुरु गर्ने,र महिलाको नेतृत्वमा आधारित संगीत–कथा–दृश्यकला मिश्रण परियोजना प्रारम्भ गर्ने योजना बनाएको छ। साथै संगम प्रोडक्सन र एचएमपीका सम्पूर्ण डिजिटल मार्केटिङ CAFA Experts द्वारा व्यवस्थापन गरिएको छ ।
सिड्नी ओपेरा हाउसको प्रतिष्ठित मञ्चबाट नेपाली संगीतमार्फत विश्वमा शान्ति, मेलमिलाप र समावेशीताको सन्देश फैलाउने यो सांगीतिक यात्रा ऐतिहासिक बन्ने विश्वास आयोजकहरू र समुदायका अगुवाहरूले व्यक्त गरेका छन्
कार्यक्रममा सहभागी हुन यहाँ जानुहोस ।