ट्याक्स रिफण्डको लोभमा नपर्नुहोस्, झूटा विवरणले जेलसम्म पुर्‍याउन सक्छ!

ट्याक्स रिफण्डको लोभमा नपर्नुहोस्, झूटा विवरणले  जेलसम्म  पुर्‍याउन सक्छ!
नेपालआईज
२० जेठ २०८२ २२:२५

 

सिड्नी, अष्ट्रेलियामा नक्कली व्यवसाय खोलिएको देखाउँदै GST रिफण्ड दाबी गरी कर हिनामिना गर्ने तीन जना व्यक्तिलाई अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ। अष्ट्रेलियन ट्याक्सेसन अफिस (ATO) द्वारा सञ्चालित Operation Protego अन्तर्गत ठगीको यो नयाँ श्रृंखला सार्वजनिक भएको हो।

यी तीनै जनाले आफ्नो ABN प्रयोग गरी झूटा व्यवसाय विवरण तयार पारी झूटा BAS (Business Activity Statement) पेश गरेका थिए। उनीहरूले सैलुनदेखि ट्रान्सपोर्टसम्मका नक्कली व्यवसाय देखाएर लाखौं डलर सरकारबाट असुल गर्ने प्रयास गरेका थिए। यस किसिमको प्रवृत्तिले राज्यका शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यक सेवामा गम्भीर असर पार्ने भन्दै ATO ले तीव्र कारबाही अघि बढाएको जनाएको छ।

ATO का कार्यवाहक उपायुक्त तथा Serious Financial Crime Taskforce प्रमुख क्याथ एन्डरसनका अनुसार GST ठगी गम्भीर अपराध हो, जसको असर सिधै समुदायमाथि पर्छ। “ठगी गरे सजाय निश्चित छ। हामीसँग प्रविधि, डेटा विश्लेषण प्रणाली र गुप्त सूचना संयन्त्र छ जसले अपराधीलाई कानुनी दायरामा ल्याउँछ,” उनले भनिन्।

दोषी ठहर भएकामा तियान पेटन नट्ली नामकी महिलाले नक्कली सैलुन व्यवसायको नाममा $५०,००० ठगी गरेकी थिइन् र थप २५  हजार डलर  दाबी प्रयास गरेकी थिइन्। उनलाई ९ महिनाको जेल सजाय सुनाइए पनि $२,००० धरौटीमा तत्काल छुट दिइएको छ र १२ महिनासम्म राम्रो व्यवहार गर्नुपर्नेछ। अर्की अभियुक्त स्काई एन होक ले २५ हजार डलर  भन्दा बढी झूटा रिफण्ड दाबी गरेकी थिइन्। उनलाई कुनै छुटबिना ३ महिनाको जेल सजाय दिइएको छ। तेस्रो अभियुक्त ग्रेगोरी पिम ले झूटा रोड फ्रेट ट्रान्सपोर्ट व्यवसाय देखाएर ३७ वटा BAS पेश गरी $१,६५,००० असुल गरेका थिए र $३,००,००० थप दाबी प्रयास गरेका थिए। उनलाई २ वर्ष ६ महिनाको जेल सजाय सुनाइएको छ। ६ महिना जेल बसेपछि $५०० धरौटीमा छुट पाउनेछन, तर ३ वर्षसम्म राम्रो व्यवहार र २ वर्षसम्म प्रोबेशन अधिकारीको निगरानीमा बस्नुपर्नेछ।

ATO ले यस्तो किसिमको कर हिनामिना रोक्न Counter Fraud Program अन्तर्गत निगरानी र प्रविधि आधारित कारबाहीलाई तीव्र बनाएको छ। GST वा अन्य करसम्बन्धी ठगी देखिएमा नागरिकहरूले गोप्य रूपमा 1800 060 062 मा सम्पर्क गरेर वा ATO को वेबसाइटमार्फत रिपोर्ट गर्न सक्ने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर