Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अष्ट्रेलियामा सर्भर, नेपालमा अर्बौंको कर छली ! (विज्ञप्तिसहित)
मेलबर्न
४ असार २०८२ ३:४३
अष्ट्रेलिया,नेपाल क्यानमुभ नामक कम्पनीले अष्ट्रेलियाबाट सेवा बिक्री गर्दै नेपालमा कर तिर्नु पर्ने रकम लुकाएर राजस्व अनुशन्धान विभागले फेला पारेको छ । अष्ट्रेलियामा दर्ता भएर नेपालमा सेवा सञ्चालन गरिरहेको यस कम्पनीले चार वर्षको अवधिमा करिब ६८ करोड ४० लाख ५ हजार ७ सय ६० रुपैयाँबराबरको कारोबार लुकाएको नेपाल सरकारको राजस्व अनुसन्धान विभागको ठहर छ।
कम्पनीका सञ्चालकहरू सुदिप आचार्य, जीवन ज्ञवाली, गंगा बहादुर थापा, मनिष प्रसाद आचार्य, मिठु पौडेल र उप-कार्यकारी निर्देशक संगम पौडेलविरुद्ध ऐन अनुसार फौजदारी अभियोग दायर गरिएको छ। कम्पनीले अष्ट्रेलियास्थित पोर्टल (portal.nepalcanmove.com) मार्फत सेवा बिक्री गरी विदेशी खातामा पैसा राख्ने, तर नेपालमा नाफा नदेखाउने रणनीति अपनाएको अनुसन्धानबाट प्रमाणित भएको छ।
कम्पनीले सेवा त बेच्यो, तर नाफा भने छिपायो। यसरी देखाइएको दुई नम्बरी कारोबारले कर ऐनको गम्भीर उल्लङ्घन गरेको प्रमाणित भएपछि राज्यले सो रकममाथि ६८ करोड ४० लाख बराबरको जरिवाना थप्दै कुल मागदाबी १ अर्ब ३६ करोड ८८ लाख ११ हजार ५ सय २० रुपैयाँ कायम गरेको छ।
सबैभन्दा चकित पार्ने कुरा के भने, यो कम्पनीले नेपालको भित्र–बाहिर दुवै ठाउँमा ‘कानुनी घेराबाट उम्किने रणनीति’ अपनाउँदै कर्पोरेट बस्त्र लगाएर राज्यलाई ठग्ने प्रविधि अपनाएको छ। यसै कारणले यो प्रकरण नेपाली कर्पोरेटकै सबैभन्दा ठूलो अनलाइन सेवा कर छल प्रकरण भएको दाबी गरिएको छ।
राजस्व अनुसन्धान विभागले भनेको छ :
प्रतिवादीहरू सुदिप आचार्य, जीवन ज्ञवाली, गंगा बहादुर थापा, मनिष प्रसाद आचार्य, श्रीमती मिठु पौडेल र प्रा.लि.का उप-कार्यकारी निर्देशक संगम पौडेलले आपसी मिलेमतो गरी उक्त प्रा.लि.को सर्भर अष्ट्रेलियाबाट सञ्चालन गरी नेपालको कर प्रशासनको पहुँचभन्दा बाहिर राखी मूल्य अभिवृद्धि कर र आयकरसमेत छली गरेका छन्।
उनीहरूले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरेका छन्। सोही ऐनको दफा ४ को खण्ड (क), (च) र (झ) अनुसार कसुर गरेको पाइएकाले, प्रतिवादी शेयरधनी तथा सञ्चालकहरू सुदिप आचार्य, जीवन ज्ञवाली, गंगा बहादुर थापा, मनिष प्रसाद आचार्य र मितु पौडेललाई विस्तृत अनुसन्धान तथा तत्कालीन प्रतिवेदनको बिँगो गणना तालिकाको आधारमा ऐनको दफा २(छ) को (क) र (ख) बमोजिम कारबाही गर्नुपर्ने ठहर गरिएको छ।
प्रस्तुत कम्पनीले आ.व. २०७६/७७ देखि २०७९/८० को फागुन मसान्तसम्म सेवा बिक्री लुकाई गरेको कारोबारबाट कायम भएको बिँगो रकम रु ६८ करोड ४० लाख ५ हजार ७ सय ६० रुपैयाँ मात्र) रहेको छ। ऐनको दफा २३(१) अनुसार उक्त बिँगो असुल गर्ने र सोही बराबरको जरिवाना पनि लगाउने व्यवस्था अनुरूप रु. ६८ करोड ४० लाख ५ हजार ७ सय ६० गरी कुल १ अर्ब छत्तीस करोड ८८ लाख ११ हजार ५ सय २० रुपैयाँ मात्र) मागदाबी गरिएको छ।
त्यसैगरी, ऐनको दफा २३(४) अनुसार ब्याज समेत जोडिने र उपदफा (१)(घ) बमोजिम केन्द्र सजायको माग गरिएको छ। साथै, उप-कार्यकारी निर्देशक संगम पौडेलले कम्पनीको प्रमुख कार्यकारीको हैसियतमा अन्य संचालकहरूसँग मिलेर राजस्व चुहावटमा संलग्न भएको पाइएकाले, उनलाई ऐनको दफा २३(५) अनुसार मुख्य कसुरदार ठहर गरी मीतियारको रूपमा आधा सजायको प्रस्ताव गरिएको छ।
यसका साथै, अत्यन्त पीडित संरचना ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति शुल्क भराई पाउने मागदाबी सहित फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची–२० अनुसार तयार पारिएको अभियोग पत्र उच्च अदालत पाटनमा मिति २०८२/०३/०१ मा दायर गरिएको हो।
क्यानमुभको पोर्टलमा यसरी लेखिएको छ :
“तपाईंको सम्पूर्ण कोरियर तथा ढुवानी साझेदार छिटो। सुरक्षित। भरपर्दो।”
तपाईंको सफलता र वृद्धिका लागि हामी सधैं तपाईंको साथमा छौं। पहिलो पटक यस्तो सेवा अनुभव गर्नुहोस्, जुन कहिल्यै बिर्सन सकिँदैन।