सिड्नी | नेपाली समुदायको चासो, पहिचान र उपस्थितिलाई सम्मान गर्दै अष्ट्रेलियाको न्यु साउथ वेल्सस्थित बरवुड सिटी काउन्सिलले काठमाडौं महानगरपालिकासँग सिस्टर सिटी सम्बन्ध स्थापना गर्न आवश्यक अध्ययन सुरु गर्ने प्रस्ताव पारित गरेको छ।
बरवुड काउन्सिलकी नेपाली मूलकी काउन्सिलर सुकीर्ति भट्टले पेस गर्नुभएको ‘Strengthening International Relations with Nepal’ शीर्षकको उक्त प्रस्ताव सर्वसम्मत पारित भएको हो।
बरवुड क्षेत्रमा पछिल्लो समय नेपाली समुदायको उल्लेखनीय वृद्धि, सांस्कृतिक कार्यक्रमहरूको आयोजना, र समुदायको सक्रिय सहभागिताले यो प्रस्ताव अघि सार्न प्रेरित गरेको काउन्सिलले जनाएको छ। काठमाडौंसँगको सांस्कृतिक, सामाजिक र ऐतिहासिक समानता तथा साझा मूल्यहरूलाई आधार मानेर सिस्टर सिटीको सम्भावना खोज्ने प्रक्रिया अघि बढेको काउन्सिलर सुकीर्ति भट्टले जानकारी दिइन ।
प्रस्तावका मुख्य बुँदाहरू
काठमाडौं महानगरसँग सिस्टर सिटी सम्बन्धको सम्भाव्यता अध्ययन गर्ने, सम्भावित लाभ, नीति मिलान र स्रोत व्यवस्थापनबारे समीक्षा गर्ने।
सम्बन्धित समुदाय, व्यवसायी, शैक्षिक संस्था र बहुसांस्कृतिक सल्लाहकार समितिसँग परामर्श गरी सहकार्यको सम्भावना पहिचान गर्ने।
प्राप्त सुझाव, अनुसन्धान र सिफारिससहित प्रतिवेदन तयार गरी आगामी काउन्सिल बैठकमा पेश गर्ने।
काउन्सिलको धारणा
बरवुड काउन्सिलले विगतमा दुई सिस्टर सिटी र आठ फ्रेन्डसिप सिटी सम्बन्ध बनाएको भए पनि नेपालसँग अझैसम्म कुनै औपचारिक सम्बन्ध छैन। यो प्रस्तावले नेपालसँगको कूटनीतिक, सांस्कृतिक र शैक्षिक सहकार्यको नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरिएको छ।
विदेश सम्बन्ध ऐन २०२० अनुसार नीतिगत अद्यावधिक आवश्यक भएकाले, यो प्रस्ताव त्यस दिशामा नीति सुधारको अवसर पनि भएको काउन्सिलले जनाएको छ ।
आफ्नो जन्मसहर काठमाडौं र हालको आवासस्थल बर्वुड एलजिएलाई एक आपसमा जोड्न पाउँदा म अत्यन्त गौरवान्वित छु,”काउन्सिलर सुकीर्ति भट्टले खुशी व्यक्त गर्दै भनिन्।
“काठमाडौं मेरो जन्म र बाल्यकाल बितेको सहर हो, जहाँ मेरो आत्माले बास लिएको छ। सिड्नी आएको लामो समयपछि बर्वुड एलजिए मेरो रोजाइको घर बनेको छ र अब यो मेरो जीवनको अभिन्न हिस्सा भइसकेको छ। यी दुई समुदायबीच सेतुको भूमिका निर्वाह गर्दै काउन्सिलमा सेवा गर्न पाउनु मेरो लागि ठूलो सम्मानको विषय हो,” उनले भनिन्।
सिड्नीस्थित नेपाली वाणिज्य दूतको कार्यलयले काउन्सिलर सुकृति भट्टप्रति आभार प्रकट गर्दै यो प्रस्ताव नेपाली समुदायको योगदानप्रति गरिएको सम्मान र कदरको प्रतीक भएको जनाएको छ।
वाणिज्यदूत सन्जिव शर्माले काठमाडौं–बरवुड सिस्टर सिटी सम्बन्धले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई अझ सुदृढ पार्ने, युवा र व्यवसायीहरूका लागि नयाँ अवसर ल्याउने तथा दुई देशबीचको आपसी समझदारीलाई गहिरो बनाएको बताउनु भयो ।