५१वर्षअष्ट्रेलियामा बसेका डा.प्रधानले रवि लामिछाने सम्झिँदै भने-“देश फर्किएको भए सायद म पनि जेलमै पुग्थेँ होला!

५१वर्षअष्ट्रेलियामा बसेका डा.प्रधानले रवि लामिछाने सम्झिँदै भने-“देश फर्किएको भए सायद म पनि जेलमै पुग्थेँ होला!
छत्र शंकर
१५ असार २०८२ २१:४६

अष्ट्रेलिया ।  “आज एक स्लाइडमा हजारौँ खबर देखिन्छ, त्यो बेलामा भने नेपालकै खबर पाउन महिनौँ कुर्नुपर्थ्यो,” जब नारायण प्रधानले यो बोले, तब अष्ट्रेलियाको नेपाली पत्रकारहरूको संस्था  अष्ट्रेलियन नेप्लिज जर्नलिस्ट एसोसिएसन ( एन्जा) द्वारा  गत शुक्रवार  सिड्नीमा आयोजित  कार्यक्रममा उपस्थित सबै श्रोता मौन भएर उनको अनुभवमा तल्लीन थिए।

५१ वर्षअघि अष्ट्रेलिया आइपुगेका नारायण प्रधान, नेपालसँगको सम्पर्क र खबर थाहा पाउने संघर्ष सुनाउँदा, पुरानो पुस्ताको पीडा र नयाँ पुस्ताको सौभाग्यबीचको फरक स्पष्ट देखिन्थ्यो। प्रधानले सम्झिए –

“नेपालमा फोन गर्न १ सय ५० रुपियाँ लाग्थ्यो, त्यो पनि सन् १९७० को दशकमा, जुन अहिलेको लाख बराबर हो।”

उनका अनुसार,  नेप्लिव एसोसिएसन अफ अष्ट्रेलिया ले गोरखापत्र र  द राईजिङ् नेपाल अर्डर गरेर नेपालका समाचारहरू मगाउने गर्थ्यो। त्यो पत्रिका अष्ट्रेलिया आइपुग्न झण्डै एक महिना लाग्थ्यो, अनि तिनै पत्रिकाबाट साप्ताहिक समाचार जानकारी हुन्थ्यो।

अबको संचार क्रान्तिमा विस्मित हुँदै प्रधानले भने –“अब त एक क्लिकमै हजारौँ खबर, आवाज, भिडियो हेर्न पाइन्छ। कहाँ त्यो बेलाको खबरको तिर्सना, कहाँ आजको डिजिटल संसार!”

कार्यक्रममा कतिले भाषण ठोके, कतिले पत्रकारितामाथि आलोचना गरे, तर नारायण प्रधानको अनुभूति भने अर्थपूर्ण र आत्मालोचनात्मक थियो।“कहिलेकाहीँ लाग्छ नेपाल छोडेर  किन अष्ट्रेलिया आएको होला !” प्रधानले भनें – “रवी लामिछाने जस्तो देश फर्किएर काम गर्न सकिन्थ्यो कि? तर उ त जेलमै पुग्यो। सायद म पनि जेलमै पुग्थेँ!”

उनले आँफैलाई प्रश्न गरे – “कहीं म पनि उनीहरू जस्तै भ्रष्ट बन्ने त होइन?” तर उनको उत्तरमा निष्कर्ष थियो ,“हामी अष्ट्रेलियाबाट नेपाल परिवर्तन गर्न सक्दैनौँ, न भोट हाल्न अधिकार छ, न नेता छान्ने।”

तर निराश मात्र होइन, आशा पनि थियो। प्रधानको सुझाव थियो –

“यहाँ हजारौँ नेपाली छन्। उनीहरूका बाबुआमा, छोराछोरी नेपाल जान्छन्। हामीले उनीहरूलाई भन्न सक्छौं – पार्टीको झोले नबन। असल नेता रोज। पत्रकारहरूले पनि यस्ता सन्देश दिन सक्छन्।”

उनको धारणा स्पष्ट थियो –“तेल भिसामा आएका बुबाहरूलाई पनि बुझाउनुपर्छ – पार्टीको झोले बनिसकेर केही हुँदैन। भ्रष्टाचार हटाउनका लागि जनचेतना फैलाउनुपर्छ।”

कार्यक्रमको त्यो पलमा नारायण प्रधानको बोली केवल पुरानो पुस्ताको सम्झना थिएन, त्यो भविष्यलाई सिकाउने अनुभवको शिक्षा थियो।

सञ्चारको युग बदलिएको छ, तर सन्देश अझै स्पष्ट छ , “देश बनाउने शक्ति हाम्रै चेतनामा छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर