NRNA Australia Election

एनआरएनए अष्ट्रेलियाको लोगो चुनावी प्रचारमा प्रयोग गर्नेको उम्मेदवारी नै रद्द हुन सक्ने : ढकाल

एनआरएनए अष्ट्रेलियाको लोगो चुनावी प्रचारमा प्रयोग गर्नेको उम्मेदवारी नै रद्द हुन सक्ने : ढकाल
नेपालआईज
२१ असार २०८२ ७:१०

 

सिड्नी। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी निर्वाचन नजिकिँदै गर्दा, निर्वाचन आयोगले उम्मेदवार र समर्थकलाई संगठनको लोगोको अवैध प्रयोग नगर्न कडा चेतावनी दिएको छ।

मुख्य निर्वाचन आयुक्त डिल्ली ढकालद्वारा जारी सूचनामा स्पष्ट उल्लेख गरिएको छ , “एनआरएनए अष्ट्रेलियाको लोगो संस्था स्वयंको बौद्धिक सम्पत्ति हो। यसलाई कुनै पनि उम्मेदवार वा समर्थकले चुनाव प्रचार–प्रसारका पोस्टर, फ्लायर वा सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने छैनन्।”

यस नियमको उल्लंघन भएमा उम्मेदवारी नै रद्द गर्न सकिने चेतावनीसमेत दिइएको छ। एनआरएनएको विधान (२००३, संशोधन २०१७) को दफा १४ अन्तर्गत, लोगोको प्रयोगबारे स्पष्ट व्यवस्था गरिएको छ। आयोगका अनुसार बारम्बार सम्झाएपछि पनि नियमको उल्लंघन गरिए उम्मेदवारले संस्थाको मूल्य र मर्यादा उल्लंघन गरेको मानिनेछ।

ढकालले सबै उम्मेदवार र टोलीलाई निष्पक्ष, पारदर्शी र मर्यादित निर्वाचन सुनिश्चित गर्न आह्वान गरेका छन्। “कुनै प्रश्न वा अन्योल भएमा हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ,” उनले भनेका छन्।

ढकालको चेतावनीसहितको यो सन्देश सार्वजनिक भएपछि एनआरएनए भित्र चर्चा सुरु भएको छ। यसबारे एनआरएनएको एक सदस्यले प्रतिक्रिया दिँदै भनेका छन्, “यो सन्देश अहिले आउनु कुनै संयोग होइन। अष्ट्रेलियामा महेश श्रेष्ठ नेतृत्वको समूह र केही स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा तीव्र रूपमा सक्रिय भइरहेका छन्। त्यही सक्रियता देखेर आयोग कडा बनेको हो जस्तो देखिन्छ।”

सदस्यका अनुसार केही समूहले सामाजिक सञ्जालमा प्रचारमा एनआरएनएको लोगो प्रयोग गरेकोप्रति असन्तोष जनाइएको थियो। त्यसैको प्रतिक्रियास्वरूप आयोगले संगठनको नियम कार्यान्वयनमा कठोरता देखाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर