सिड्नी । ग्रेटर सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माण अभियानले यतिबेला तीव्रता पाएको छ। यही अगस्ट २९ देखि ३१ सम्म आयोजना हुने तीनदिने सिड्नी आध्यात्मिक महोत्सव २०२५ को पहिलो दिन १००८ महिलाहरू द्वारा कलश यात्रा आयोजना गरिने भएको छ।
यसका लागि ५०० भन्दा बढी महिलाहरूले नाम दर्ता गराइसकेका छन्, कलश यात्रा कार्यदलकी संयोजक मिना शर्माले जानकारी दिनुभयो।
करिब एक महिना अघि सुरु गरिएको १००८ कलश यात्रा अभियानमा हालसम्म करिब ५० प्रतिशत सहभागिता भइसकेको छ। पवित्र संकल्प यात्रामा समुदायका दिदीबहिनीहरूले देखाएको अपार उत्साहलाई हेर्दा, आउँदो ६ हप्ताभित्र १००८ को लक्ष्य पुग्ने विश्वास संयोजक शर्माले व्यक्त गर्नुभयो।
करिब एक वर्षअघि स्थापित गैर-नाफामूलक सामुदायिक संस्था ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र (Greater Sydney Nepalese Multicultural Center – GSNMC) अभियानमा हालसम्म ४०० भन्दा बढीले आजीवन सदस्यता लिइसकेका छन्।
सिड्नी आध्यात्मिक महोत्सव २०२५ GSNMC सम्बन्धी सचेतना, अर्थसंकलन तथा समुदायका धेरैलाई आजीवन सदस्यता लिन प्रोत्साहित गर्ने उद्देश्यले महत्वपूर्ण हुने आयोजकहरूले बताएका छन्।
वाचन प्रविण दीनबन्धु पोखरेलको प्रमुख आतिथ्यमा आयोजना हुने उक्त महोत्सवमा बौद्ध लामा गुरु खेन्पो तेन्जिंग त्रिन्लेबाट आशिर्वाद ग्रहण गर्ने कार्यक्रम समेत तय गरिएको छ।
सिड्नी वरपर बसोबास गर्ने नेपाली समुदायको साझा अपनत्व हुनेगरी बहुसांस्कृतिक केन्द्र निर्माणमा सहभागिताका लागि GSNMC ले सबैमा अपिल गरेको छ। संस्थाले पहिलो चरणमा ५ हजार आजीवन सदस्यता वितरण, ५ मिलियन डलर अर्थ संकलन गरी, ५ एकड (२० हजार वर्गमिटर) क्षेत्रफलको जग्गा खरिद गरेर केन्द्रको प्रारम्भिक काम थाल्ने दीर्घकालीन उद्देश्य लिएको छ।
प्रस्तावित नेपाली बहुसांस्कृतिक केन्द्र नेपालको विविधता झल्किने, सबैले अपनत्व महसुस गर्ने र दीर्घकालीन रूपमा नेपाली समुदायको एकता, सबलता र स्वाभिमान सँग जोडिएको परियोजना हुनेछ।
सिड्नी आध्यात्मिक महोत्सव को पूर्वसन्ध्यामा आयोजना हुने कलश यात्रा तथा तीनदिने विविध आध्यात्मिक कार्यक्रममा आफ्नो सुविधाअनुसार सहभागी हुन GSNMC परिवारले सबैलाई हार्दिक अनुरोध गरेको छ।
थप जानकारीका लागि यहाँ हेर्नुहोस।