एडिलेड/ दक्षिण अस्ट्रेलियाका वर्तमान उपाध्यक्ष विनोद बानियाँले एनआरएनए दक्षिण अस्ट्रेलियाको संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनए अस्ट्रेलियाको यही २६ तारिखमा हुने निर्वाचनमा उनीसहित तीनजनाको उम्मेदवारी परेको छ।
बानियाँ दक्षिण अस्ट्रेलियामा विगत एक दशकदेखि स्थानीयस्तरमा सामाजिक काममा सक्रिय रहँदै आएका छन्। एनआरएनए दक्षिण अस्ट्रेलियाको युवा सदस्यबाट आफ्नो यात्रा सुरु गरेका उनले राज्य सचिव र उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। आफूले एनआरएनए दक्षिण अस्ट्रेलियाको एक युवा सदस्यदेखि महत्त्वपूर्ण पदमा रहेर काम गरिसकेका कारण संयोजकको जिम्मेवारीलाई अत्यन्तै सहजताका साथ पूरा गर्ने बताएका छन्।
‘मैले एनआरएनए दक्षिण अस्ट्रेलियालाई सामान्य सदस्यदेखि नेतृत्वदायी भूमिकासम्म रहेर चिनेको छु र यसै कारणले म संयोजकका रूपमा सबैका लागि काम गर्न सक्छु,’ उनले नेपाल आइजसँग भने। उनले आफूले अहिलेसम्म पाएको अनुभव, सिकाइ र लगनले संयोजकका लागि तयार गरेको र त्यसलाई पूर्ण रूपमा समाजका लागि उपयोग गर्न आफू सक्षम र उत्सुक रहेको बताए।
बानियाँका एजेन्डाहरू
उनले नेपाली समुदायलाई बहुसांस्कृतिक समुदायसँग जोड्ने, दोस्रो पुस्तालाई नेपाली कला संस्कृति र समग्र रूपमा नेपालसँग जोड्ने, मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने, सदस्य कार्डमार्फत छुट सुविधाका लागि विभिन्न व्यवसायीसँग समन्वय गर्ने, महिला सशक्तीकरण तथा सहभागिताका कार्यक्रमलाई तीव्रता दिने र अहिले भइरहेका राम्रा कार्यक्रमको निरन्तरता दिने लगायतका एजेन्डा अघि सारेका छन्। बानियाँले आफूले सुरुवाती क्षणदेखि नै हरेक समुदायसँग नजिक रहेर काम गरेको अनुभव सुनाउँदै संयोजकका रूपमा समाजका हरेक समुदाय तथा व्यक्तिलाई एकसाथ लिएर जाने वाचा गरे।
समुदाय-केन्द्रित नेतृत्वको आवश्यकता
उनी एनआरएनएभित्र केही सुधारको आवश्यकता रहेको समेत स्वीकार्छन्। यसका लागि व्यक्तिगत र राजनीतिभन्दा पनि समाजलाई प्राथमिकतामा राखेर काम गर्ने नेतृत्वको आवश्यकता रहेको जिकिर गर्छन्। ‘मैले अहिलेसम्म जे गरेको छु समाजका लागि, निस्वार्थ रूपमा गरेको छु,’ त्यसैले समेत संयोजकका रूपमा मैले गर्ने जिम्मेवारी समाज र सम्पूर्ण दक्षिण अस्ट्रेलियाका नेपाली केन्द्रित हुनेछ। बानियाँले एनआरएनए केवल संस्था मात्र नभएर यहाँ रहेका नेपालीको साझा सपना भएको बताए। एनआरएनए समस्यामा परेका नेपालीको आशाको केन्द्र हुनुपर्ने र त्यसका लागि आफू संयोजकका रूपमा लागि पर्ने जनाएका छन्। ‘यो सामाजिक संस्था हो र यसलाई सफल र सहज बनाउन राम्रो नेतृत्वको आवश्यकता छ र त्यसका लागि म तयार छु,’ उनले भने।
उनले आफू समुदायले चाहेका हरेक एजेन्डा तथा विषयमा छलफल गर्न र त्यसलाई समाहित गरेर अघि बढ्न तयार रहेको समेत बताए।
बानियाँसहित दक्षिण अस्ट्रेलियाबाट वर्तमान एनआरएनए अस्ट्रेलियाका सचिव थीर गुरुङ र एनआरएनए दक्षिण अस्ट्रेलियाका पब्लिक अफिसर रहिसकेका देवेन्द्र खरेलले संयोजक पदका लागि उम्मेदवारी दिएका छन्।