अष्ट्रेलियामा मानसिक स्वास्थ्यको भरोसा बन्दै सन्तोषी गौतम…

अष्ट्रेलियामा मानसिक स्वास्थ्यको भरोसा बन्दै सन्तोषी गौतम…
नेपालआईज
८ पुष २०८२ ३:१०

एडिलेड /  मानसिक स्वास्थ्य आज विश्वव्यापी चुनौतीको विषय बनेको छ। आप्रवासनको दबाब, पारिवारिक जिम्मेवारी, सांस्कृतिक द्वन्द्व र पहिचानको सङ्घर्षले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदाय पनि यस समस्याबाट अछुतो छैन।  सन्तोषीको व्यावसायिक सफलताले अष्ट्रेलियामा अध्ययन र अवसर खोजिरहेका नेपाली युवाहरूको सोचमै परिवर्तन ल्याउन सक्ने संकेत गर्छ। अष्ट्रेलियामा लामो समयदेखि एउटै पेशा र व्यवसायमा सीमित हुँदै आएको नेपाली समुदायमा धेरैजसो ‘कम्फर्ट जोन’ बाहिर ननिस्कने प्रवृत्ति देखिन्छ। तर सन्तोषीको यात्रा यसै धारणा तोड्ने उदाहरण बनेको छन, नयाँ क्षेत्र, नयाँ चुनौती र दीर्घकालीन सम्भावनातर्फ अघि बढ्दा सफलता सम्भव हुन्छ भन्ने सन्देशसहित।

नर्सिङबाट मनोचिकित्सासम्मको यात्रा

Registered Nurse र Credentialed Mental Health Nurse को बलियो क्लिनिकल पृष्ठभूमिबाट आएकी   साउथ अष्ट्रेलिया (एडिलेड) निवासी सन्तोषी हाल Registered Psychotherapist को रूपमा कार्यरत छिन्। Cognitive Behavioural Therapy (CBT) मा आधारित उनको अभ्यास समुदाय, आपतकालीन सेवा, फरेन्सिक, तीव्र उपचार तथा सुधारगृह (custodial) क्षेत्रसम्म फैलिएको छ। उनी PACFA र ACMHN मा दर्ता हुनुका साथै Medicare provider number प्राप्त थोरै नेपाली मानसिक स्वास्थ्य पेशेवरहरूमध्ये एक हुन्।

उनको व्यावसायिक यात्रा नर्सिङ पेशाबाट सुरु भएको हो। तीव्र तथा दीर्घकालीन मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्तिहरूसँग काम गर्दै जाँदा उनले एउटा गहिरो यथार्थ महसुस गरिन्—केवल औषधि र तत्कालीन उपचार पर्याप्त हुँदैन, दीर्घकालीन सुधारका लागि मनोचिकित्सा अनिवार्य छ। “क्लिनिकल हेरचाहसँगै मनोवैज्ञानिक उपचार जोडिँदा मात्रै मानिस साँच्चिकै निको हुन सक्छ,” सन्तोषी भन्छिन्। यही अनुभूतिले उनलाई Psychotherapy र Counselling अध्ययनतर्फ डोर्‍यायो।

पढाइ, काम र जिम्मेवारीबीचको संघर्ष

पूर्णकालीन क्लिनिकल कामसँगै स्नातकोत्तर अध्ययन, नेतृत्वदायी भूमिका र पारिवारिक जीवन सन्तुलनमा राख्नु सजिलो थिएन। समयको दबाब, भावनात्मक थकान र उच्च अपेक्षाले उनलाई बारम्बार चुनौती दियो। तर अनुशासन, आत्म-हेरचाह र परिवार तथा सहकर्मीको साथले उनलाई निरन्तर अघि बढायो। “दृढता र उद्देश्य स्पष्ट भए चुनौतीहरू पार गर्न सकिँदो रहेछ,” उनी अनुभव सुनाउँछिन्।

व्यावसायिक मान्यता र उपलब्धि

PACFA र ACMHN मा दर्ता हुनु तथा Medicare provider number प्राप्त गर्नु सन्तोषीका लागि ठूलो माइलस्टोन हो। यसले उनको योग्यता, नैतिक अभ्यास र सुरक्षित सेवाप्रतिको प्रतिबद्धतालाई औपचारिक मान्यता दिएको छ। सबैभन्दा महत्वपूर्ण उपलब्धि भनेको Medicare-समर्थित सेवामार्फत नेपाली तथा अन्य समुदायका क्लाइन्टहरूले सजिलै मानसिक स्वास्थ्य सेवा पाउन थालेको हो।

नेपाली समुदायमा देखिएका वास्तविक मानसिक स्वास्थ्य चुनौती

CBT Therapist को रूपमा काम गर्दा सन्तोषीले नेपाली समुदायमा प्रायः चिन्ता (anxiety) र अवसाद (depression) देखेकी छन्। आप्रवासनको तनाव, पारिवारिक द्वन्द्व, पुस्तागत दूरी, भाषा अवरोध र आर्थिक दबाब यसको प्रमुख कारण हुन्। युवाहरू विद्यालयको दबाब, सामाजिक सञ्जाल र पहिचानको द्वन्द्वमा छन् भने अभिभावकहरू सन्तानको अनुभव बुझ्न संघर्ष गरिरहेका छन्। यी समस्या निद्राको गडबडी, सम्बन्धमा तनाव र भावनात्मक पीडाका रूपमा देखिन्छन्।

मानसिक स्वास्थ्यप्रतिको धारणा बिस्तारै बदलिँदै

नेपाली समुदायमा मानसिक स्वास्थ्यबारे चेतना बढ्दै गएको छ, तर कलंक अझै पूर्ण रूपमा हटिसकेको छैन। विशेषगरी वृद्ध पुस्तामा सेवा लिन हिच्किचाहट देखिन्छ। तर सकारात्मक पक्ष के छ भने, युवापुस्ता तनाव र भावनात्मक स्वास्थ्यबारे खुलेर कुरा गर्न थालेको सन्तोषी बताउँछिन्। समुदायस्तरका छलफल, शिक्षा र संवादले विस्तारै परिवर्तनको आधार तयार गरिरहेको उनको विश्वास छ।

आफ्नै भाषामा उपचारको सकारात्मक प्रभाव

नेपाली भाषामा काउन्सेलिङ गर्दा क्लाइन्टसँगको विश्वास र भावनात्मक सुरक्षा उल्लेखनीय रूपमा बढेको सन्तोषीको अनुभव छ। केही क्लाइन्ट गोपनीयता र सामाजिक धारणा कारण हिच्किचाए पनि धेरैले आफ्नै भाषामा खुलेर कुरा गर्न पाउँदा राहत महसुस गर्छन्। हिन्दी बोल्ने क्लाइन्टसँग पनि उनी प्रभावकारी रूपमा काम गरिरहेकी छन् भने अन्य भाषाका क्लाइन्टका लागि व्यावसायिक अनुवादक सेवामार्फत सुरक्षित उपचार सुनिश्चित गरिन्छ।

टेलिहेल्थ: दूरी घटाउने नयाँ माध्यम

ग्रामीण र दुर्गम क्षेत्रमा मानसिक स्वास्थ्य सेवाको अभाव देखेपछि सन्तोषीले अन्तरराज्य टेलिहेल्थ काउन्सेलिङ सेवा सुरु गरिन्। लामो प्रतीक्षा समय घटाएर समयमै सहयोग पुर्‍याउनु यसको मुख्य उद्देश्य हो। बालीलगायत अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य कार्यशालामा सहभागिताले उनको अभ्यासलाई अझ समृद्ध र व्यापक बनाएको छ।

युवाहरूका लागि सन्देश र भविष्यको लक्ष्य

सन्तोषीको यात्रा नेपाली युवाहरूका लागि प्रेरणादायी उदाहरण बनेको छ। “मानसिक स्वास्थ्यको ख्याल राख्नु करियर सफलताजत्तिकै महत्वपूर्ण छ,” उनी भन्छिन्, “सहयोग माग्नु कमजोरी होइन, साहस हो।” भविष्यमा उनले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायमा जुवासम्बन्धी (gambling-related) मानसिक स्वास्थ्य समस्यामाथि अनुसन्धान गर्ने योजना बनाएकी छन्। कलंकका कारण लुकेको यो समस्या चिन्ता, अवसाद, पारिवारिक द्वन्द्व र आर्थिक तनावसँग गहिरो रूपमा जोडिएको उनी बताउँछिन्।

अष्ट्रेलियामा डर लाग्दो मानसिक स्वास्थ्य 

Australian Bureau of Statistics का तथ्यांक अनुसार, १६–८५ वर्षका लगभग ४४% मानिसले आफ्नो जीवनको कुनै न कुनै समय मानसिक रोग वा मनोवैज्ञानिक विकार अनुभव गरेका छन्, जुन करिब ८.५ मिलियन मानिसको संख्यामा पर्छ।

हरेक वर्ष पनि यो समस्या कम हुँदैन्। तथ्यांकले देखाउँछ कि २१.५% मानिसले पछिल्लो १२ महिनाभित्र कुनै मानसिक विकारको अनुभव गरेका छन्, अर्थात् करिब ४.३ मिलियन मानिस।

सर्वाधिक देखिएको मानसिक स्वास्थ्य समस्या भनेको चिन्ता (Anxiety) हो, जुन १७% भन्दा बढी व्यक्तिमा देखा परेको छ। विशेषगरी १६–२४ वर्षका युवा समूहमा मानसिक विकारको दर सबैभन्दा उच्च देखिएको छ, लगभग ३८.८%, जसको अर्थ करिब ५ मध्ये २ जना युवा ले कुनै न कुनै मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर