Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
नेपाली मूलका अन्तर्राष्ट्रिय धावकहरु सिड्नी म्याराथनअघि सम्मानित
नेपालआईज
१४ भदौ २०८२ १०:२२
अष्ट्रेलिया / सिड्नीको नर्थ वेष्ट नेपाली कम्युनिटी अन्तर्गतका नर्थवेस्ट नेप्लीज रनर्सले अष्ट्रेलियाको प्रतिष्ठित सिड्नी म्याराथन २०२५ मा सहभागी हुन आएका नेपाली मूलका अन्तर्राष्ट्रिय धावकहरूलाई सम्मान गरेका छन्।
द पन्ड्स पार्क रनपछि आज विहान आयोजित कार्यक्रममा समितिका अध्यक्ष बिकेन्द्र अधिकारीले धावकहरूलाई नेपाली झण्डा अंकित खादा ओढाएर सम्मान गर्नुभयो। सो अवसरमा व्यवसायी तथा म्याराथन धावक किशोरराज अर्यालले धावक सन्तोष राईको योगदान र प्रेरणादायी यात्राको प्रशंसा गर्दै, राईले खेलकुदमार्फत नेपालीको पहिचानलाई विश्वभर पुर्याउनुभएको र सबैका लागि गौरव तथा प्रेरणा बन्नुभएको उल्लेख गर्नुभयो।
त्यसैगरी, ५० वर्षको उमेरमा दौड प्रारम्भ गरेर विभिन्न १०० भन्दा बढी अन्तर्राष्ट्रिय म्याराथनमा सहभागिता जनाइसकेका वरिष्ठ धावक आत्माराम दहालले सबैलाई स्वस्थ जीवनका लागि दौडको महत्व बुझाउनुभयो।
धावक सन्तोष राईले पनि आफ्ना भाव व्यक्त गर्दै भने, “दैनिक दौड स्वास्थ्य र फिटनेसका लागि अमूल्य अभ्यास हो। मैले गरेको मेहनत अरूका लागि पनि प्रेरणा बन्न सकेकोमा म अत्यन्त खुसी छु।”
राईले यसअघि लन्डन म्याराथन २०२५ मा नेपालको परम्परागत पोशाक दौरा–सुरुवाल र ढाका टोपी लगाएर ४२.१९५ किमी दूरी २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा पूरा गर्दै गिनिज वर्ल्ड रेकर्ड कायम गर्नुभएको थियो। यो ऐतिहासिक उपलब्धिले उहाँलाई मात्र होइन, सम्पूर्ण नेपाली समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ पहिचान दिलाएको छ।
राईले खेलकुदलाई सामुदायिक स्तरमा प्रोत्साहन गर्ने उद्देश्यले Nepal Run UK तथा Dharan Run स्थापना गर्नुभएको थियो। २०११ मा आफ्नै जन्मथलो धरानमा सुरु गरिएको “Dharan Run” प्रारम्भमा २५ धावकबाट सुरु भए पनि अहिले यसले सयौँ धावकलाई नियमित रूपमा आकर्षित गर्ने गरेको छ र कतिपय अवसरमा हजारभन्दा बढी धावक सहभागी हुने गर्दछ।
कार्यक्रममा सिड्नीका विभिन्न क्षेत्रमा बसोबास गर्ने ५० भन्दा बढी नेपाली धावक/धाविकाहरू सहभागी हुनुहुन्थ्यो।
यसैबीच, सिड्नी म्याराथन २०२५ भोलि (अगस्ट ३१) हुँदैछ। यसमा करिब ३५,००० धावकहरूको सहभागिता हुने अनुमान गरिएको छ, जुन अष्ट्रेलियाको इतिहासमै सबैभन्दा ठूलो म्याराथन मानिन्छ। साथै, हालै यस म्याराथनले विश्वका प्रतिष्ठित World Marathon Majors मध्ये एकको मान्यता प्राप्त गरी अन्तर्राष्ट्रिय खेल मञ्चमा थप प्रतिष्ठा आर्जन गरेको छ।