Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
सिड्नीमा बहुसांस्कृतिक केन्द्र निर्माणका लागि २२ लाख डलर संकलन
नेपालआईज
१५ भदौ २०८२ २१:०२
सिड्नी । तीनदिने सिड्नी आध्यात्मिक महोत्सव सम्पन्न भएको छ। बरउड पार्कमा आयोजित महोत्सवमा हजारौं भक्तजन, समुदायका सदस्य तथा दाताहरुको उत्साहजनक सहभागिता रह्यो।
महोत्सवको मुख्य उद्देश्य सिड्नीमा नेपाली बहुसांस्कृतिक सामुदायिक केन्द्र (GSNMC) निर्माणका लागि सचेतना र कोष संकलन गर्नु रहेको थियो। अन्तिम दिन मात्रै २०० भन्दा बढीले आजीवन सदस्यता लिए भने ६१ दाताबाट करिब १२ लाख २० हजार अष्ट्रेलियन डलर दान प्रतिबद्धता प्राप्त भएको आयोजकले जनाएका छन्। सोही दिन दान पेटिकाबाट थप २४०० डलर संकलन भएको छ।
तीन दिनमा गरी करिब २२ लाख अष्ट्रेलियन डलर दान संकलन भएको छ भने ५०० भन्दा बढीले आजीवन सदस्यता लिएर कूल सदस्यता संख्या १००० नाघेको छ। महोत्सवको समापन सन्ध्या आरतिसहित गरिएको थियो।
आयोजक संस्थाले विभिन्न कारणले महोत्सवमा सहभागी हुन नसक्ने दाताहरुलाई आगामी दिनमा पनि यो अभियानमा सहभागी हुन आह्वान गरेको छ। “यो अभियान केवल आजको लागि होइन, भविष्यका पुस्ताका लागि साझा बहुसांस्कृतिक केन्द्र निर्माण गर्ने महाअभियान हो,” महेन्द्र लम्सालद्वारा जारी विज्ञाप्तीमा भनिएको छ।
सिड्नीमा नेपाली पहिचान, संस्कृति र आध्यात्मिकताको संरक्षण तथा प्रवर्द्धन गर्न “मिनी नेपाल” निर्माण गर्ने यो अभियानमा निरन्तर जुट्न सबैलाई GSNMCले आग्रह गरेको छ।