सिड्नी। जर्जेस रिभर काउन्सिलको आयोजनामा यही शनिबार, २१ फेब्रुअरी २०२६ मा आयोजना हुने वार्षिक लुनार न्यू इयर (नयाँ चन्द्र वर्ष) महोत्सवमा करिब ५० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।
२३औँ संस्करणमा प्रवेश गरेको यो महोत्सव जर्जेस रिभर क्षेत्रकै सबैभन्दा लोकप्रिय सांस्कृतिक कार्यक्रममध्ये एकका रूपमा स्थापित भइसकेको छ। हरेक वर्षझैँ यसपटक पनि सिड्नीभरिका स्थानीय बासिन्दा, परिवार तथा आगन्तुकहरूलाई एउटै थलोमा जोड्दै विविध सांस्कृतिक परम्परा, कथा र सम्पदाको उत्सव मनाइनेछ।
दिनभर सांस्कृतिक प्रस्तुति र मनोरञ्जन
महोत्सवका अवसरमा फरेस्ट रोड र हर्सभिल प्लाजा बिहानदेखि रातिसम्म उत्सवस्थलमा परिणत हुनेछन्। उद्घाटन समारोहसँगै परम्परागत सिंह नृत्य (Lion Dance) मुख्य आकर्षणका रूपमा रहनेछ। दिनभरि विभिन्न खानाका स्टल, व्यवसायिक पसल तथा सांस्कृतिक झाँकीहरू सञ्चालन हुनेछन्।
हर्सभिल प्लाजामा प्रत्यक्ष रंगमञ्च प्रस्तुति समेत आयोजना गरिनेछ, जहाँ स्थानीय समुदायका कलाकारहरूले आफ्नो प्रतिभा, विविधता र ऊर्जा प्रस्तुत गर्नेछन्।
वेस्टफिल्डमा विशेष भित्तिचित्र कार्यक्रम
महोत्सव सुरु हुनुअघि, फेब्रुअरी ७ देखि प्रमुख प्रायोजक वेस्टफिल्ड हर्सभिलले सेन्टरभित्र विशेष लुनार भित्तिचित्र कार्यक्रम आयोजना गर्ने जनाएको छ। जर्जेस रिभर काउन्सिलद्वारा आयोजित ‘Year of the Horse Zodiac Mural Competition’ का विजेता कलाकार ब्रायन मेउले ‘Kumquat Blessings’ र ‘The Fire Horse’ शीर्षकका कलाकृति प्रत्यक्ष रूपमा चित्रण गर्नेछन्। तयार पारिएको भित्तेचित्र महोत्सवका दिन सार्वजनिक प्रदर्शनमा राखिनेछ।
एकता, परम्परा र आशाको सन्देश
जर्जेस रिभर काउन्सिलका मेयर एलिस बोर्गले हर्सभिलमा लुनार न्यू इयरको दृश्य, ध्वनि र स्वाद अनुभव गर्न सबैलाई आमन्त्रण दिएकी छन्।
उनले भनिन्, “घोडा वर्षले साहस, कडा परिश्रम र सँगै अगाडि बढ्ने प्रतिबद्धताबाट नै प्रगति सम्भव हुन्छ भन्ने सन्देश दिन्छ।”
उनका अनुसार लुनार न्यू इयर एकता, परम्परा र आशाको शक्तिशाली अभिव्यक्ति हो, जसले समुदायलाई आफ्ना सांस्कृतिक जडसँग पुनः जोडिन प्रेरित गर्दछ।
सरकारी सहयोग र प्रायोजकहरूको साथ
यस परियोजनाका लागि एनएसडब्ल्यू सरकारले जर्जेस रिभर काउन्सिलसँगको सहकार्यमा अनुदान उपलब्ध गराएको छ।
महोत्सवका प्रमुख प्रायोजकहरूमा वेस्टफिल्ड हर्सभिल, NRMA साना व्यवसाय बीमा, केमिस्ट वेयरहाउस हर्सभिल, एशियन इन्स्पिरेसनस् तथा क्लब सेन्ट्रल हर्सभिल रहेका छन्।
NRMA साना व्यवसाय बीमाले ७२ हजारभन्दा बढी साना व्यवसायलाई सुरक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै हर्सभिलजस्ता जीवन्त समुदायमा स्थानीय उद्यमशीलता र साना व्यवसायको भूमिकाको प्रशंसा गरेको छ।
वेस्टफिल्ड हर्सभिलकी केन्द्र प्रबन्धक एलिसन मुइरले २३औँ वार्षिक महोत्सवलाई सहयोग गर्न पाउँदा गर्व लागेको बताउँदै फेब्रुअरी ७ देखि सुरु हुने विशेष कार्यक्रममार्फत समुदायसँग प्रत्यक्ष जोडिन उत्साहित रहेको प्रतिक्रिया दिइन्।
कार्यक्रमलाई सफल बनाउन SBS, Optus र VJB समूहले पनि सहकार्य गरेका छन्।
कार्यक्रम विवरण
मिति: शनिबार, २१ फेब्रुअरी २०२६
समय: बिहान ११:०० बजे – राति ९:०० बजे
आधिकारिक उद्घाटन: दिउँसो १२:३० बजे
स्थान: हर्सभिल प्लाजा र फरेस्ट रोड, हर्सभिल
प्रवेश शुल्क: निःशुल्क
थप जानकारीका लागि जर्जेस रिभर काउन्सिलको आधिकारिक वेबपेज अवलोकन गर्न आग्रह गरिएको छ।