सिड्नी । रोजहिल स्थित सोल बाउल क्याफेमा कफी दिँदै गरेका क्याफेका कर्मचारी सुमन धिताल माथि एक जना ग्राहकले तातो कफी प्रहार गरेका छन् ।
क्याफेका मालिक लिली सेमानका अनुसार एक जना ग्राहकले अर्की एक युवतीको कफीको लागि पैसा तिर्ने भन्दै जिद्दी गरे पनि युवतीले अस्वीकार गरेकी थिइन् । ‘हाम्रा कर्मचारी युवतीको चाहनालाई सम्मान गरिरहेका थिए जसका कारण उनलाई दुर्व्यवहार र गाली गरियो । ती ग्राहकले दुई वटा कफी समात्दै मेरो कर्मचारीमाथि तातो कफी प्रहार गरे,’ क्याफे सञ्चालकले भनिन् । सेमानाले घटनामा संलग्न दोषीको पहिचान होस भन्ने उद्देश्यले उक्त घटनाको सिसिटिभी भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।
सुमन धितालले क्याफेमा यस्तो व्यवहार यसअघि कहिल्यै अनुभव नगरेको स्थानीय नाइन न्युजलाई बताए । ‘मैले कफी राम्रो बनाउन खोजेको थिएँ, तर उसले मलाई गाली गर्यो र मै माथि कफी प्रहार गर्यो ,’ धितालले भने ।
यसैबिच प्रहरीले उक्त घटनामा संलग्न भएका व्यक्तिको खोजी जारी राखेको छ । घटना लगतै प्रहरी आए पनि उनी त्यहाँबाट फरार भएको प्रहरीले जनाएको छ । अन्दाजी ३० वर्ष तथा कालो कपाल र दाह्री भएको उक्त व्यक्तिले सेतो र खैरो जम्पर लगाएका थिए ।
प्रहरीले उनलाई देखेका वा जानकारी भएकाहरूसँग सहयोगका लागि आह्वान गरेको छ । प्रहरीले त्यसका लागि ग्रानभिल प्रहरी स्टेसन अथवा क्राइम स्टपर्स १८००, ३३३,००० मा सम्पर्क गर्न वा वेबसाइटमार्फत जानकारी गराउन आग्रह गरेको छ ।