एडिलेड । अस्ट्रेलियाको एडिलेडमा इन्द्रजात्रा पर्व मनाइएको छ । नेवाः संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले गरिएको इन्द्रजात्रा कार्यक्रमको आयोजन गुठी साउथ अस्ट्रेलियाले गरेको थियो ।
अक्टुबर १ तारिखमा भएको जात्राको अवलोकन गर्न बालबालिकादेखि वृद्धवृद्धासम्म पुगेका थिए । जात्राका क्रममा कुमारी जात्रा, लाखे, पुलुकिसि, धिमे बाजा, समयबजी समावेश गरी नेपालको झझल्को दिइएको थियो ।
सो जात्रामा यस वर्ष नौलो प्रस्तुतिका रूपमा कुमारी नृत्य, ब्रजयोगिनी नृत्य, पञ्च बुद्ध नृत्य, मञ्जुश्री नृत्य पनि समावेश गरिएको थियो । नेवारी गीत संगीतले पनि जात्राको रौनक बढाएको थियो ।
नेपाली संस्कृति तथा रीतिरिवाजलाई साउथ अस्ट्रेलियावासीबीच चिनाउने प्रयास स्वरूप छैटौँ पटक इन्द्रजात्रा कार्यक्रम आयोजना गरेको गुठी साउथ अस्ट्रेलियाकी सजिन प्रधानाङ्गले बताउनुभयो ।
यस प्रकारका कार्यक्रमले नेपालको पर्यटन विकासमा टेवा पुग्नुका साथै विदेशमा हुर्किदै गरेको दोश्रो पुस्ताले समेत आफ्नो संस्कृतिको बारेमा बुझ्ने मौका पाएको गुठी साउथ अष्ट्रेलियाको विश्वास छ ।
इन्द्रजात्राको अवलोकन निःशुल्क गरिएको थियो । कार्यक्रममा मेम्बर अफ पार्लियामेन्टबाट नादिया क्लेन्सी, मेम्बर अफ बुथ्वेबाट लूईस जेन मिलरका साथै एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष सन्जे पुरीलगायत नेपालीको उपस्थिति रहेको थियो ।