थिर गुरुङ ; एनआरएनए दक्षिण अष्ट्रेलिया संयोजक पदका उम्मेदवार, १० सूत्रीय एजेन्डा सार्वजनिक

थिर गुरुङ ; एनआरएनए दक्षिण अष्ट्रेलिया संयोजक पदका उम्मेदवार, १० सूत्रीय एजेन्डा सार्वजनिक
नेपालआईज
१२ जेठ २०८२ १२:३७

एडिलेड – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी जुलाई २६ मा हुने चुनावमा दक्षिण अष्ट्रेलिया (एडिलेड) बाट थिर  गुरुङले राज्य संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले आफ्नो उम्मेदवारीलाई उद्देश्य, प्रतिबद्धता र एजेन्डासहित प्रस्तुत गरेका छन्।

अष्ट्रेलियामा १८ वर्षदेखि बसोबास गर्दै आएका गुरुङ विगत १५ वर्षदेखि एनआरएनएसँग सक्रिय रूपमा संलग्न छन्। उनले विभिन्न सामाजिक संघसंस्थामा स्वयंसेवकको रूपमा काम गर्दै समुदायप्रति आफ्नो जिम्मेवारी पूरा गर्दै आएको उल्लेख गरेका छन्। “एनआरएनए कुनै व्यक्तिको संस्था होइन, यो हामी सबैको साझा घर हो,” उनले लेखेका छन्, “अबको नेतृत्व सहकार्य, पारदर्शिता र विश्वासमा आधारित हुनुपर्छ।”

गुरुङले आफ्नो उम्मेदवारीसँगै नेपाली सामुदायिक हल निर्माणका लागि छलफल र आर्थिक संकलन, दोस्रो पुस्ताका नेपाली बालबालिकाको प्रतिभा प्रदर्शनका कार्यक्रम, प्रत्येक ३ देखि ६ महिनामा समुदायसँग अन्तरक्रिया, स्थानीय सरकारका कार्यक्रममा नेपाली समुदायको सक्रिय उपस्थिति, नेपाली खेलकुद संस्था र संघहरूसँग सहकार्य, संघसंस्था र व्यवसायीहरूबीच सञ्जाल विकास, सामुदायिक सदस्यलाई एनआरएनएको सल्लाहकारमा प्रस्ताव, विद्यार्थी लक्षित उपयोगी कार्यक्रम तथा एनआरएनएको इतिहास समेटिएको पुस्तक प्रकाशन जस्ता एजेन्डा प्रस्तुत गरेका छन्।

उनले एनआरएनएलाई अझ समावेशी, जवाफदेही र पारदर्शी बनाउने अठोट लिएका छन्। नयाँ पुस्तालाई अवसर दिनुपर्ने, आपतकालीन राहत, विद्यार्थी सहयोग, र संस्थालाई सबै नेपालीका लागि अझ नजिक बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

“सधैंझैं म यो पटक पनि तपाईंहरूको साथ, समर्थन र अमूल्य मतको अपेक्षामा छु,” गुरुङले भनेका छन्, “मिलेर सामाजिक काम गरौं भन्ने उद्देश्यका साथ समय दिन सक्ने साथीहरू मसँग जोडिन सक्नुहुन्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको