पहिचान हराउने बेलामा चुप लाग्न मिल्दैन भन्दै संयोजक पदमा खरेलको उम्मेदवारी

पहिचान हराउने बेलामा चुप लाग्न मिल्दैन भन्दै संयोजक पदमा खरेलको उम्मेदवारी
नेपालआईज
२१ जेठ २०८२ १०:४६

 

एडिलेड– गैरआवासीय नेपाली संघ दक्षिण अष्ट्रेलियाको आगामी कार्यकालका लागि राज्य संयोजक पदमा देवेन्द्र खरेलले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।

तर उनको यो घोषणा केवल चुनावी होड होइन—यो एक गम्भीर सांस्कृतिक चेतना अभियान हो। खरेलले स्पष्ट शब्दमा भनेका छन्, “अब मौन बस्ने बेला होइन, अब संस्कृति बचाउने बेला हो।” उनले आफ्नो घोषणापत्रमा नेपाली डायस्पोराको दोस्रो पुस्ता पहिचान संकटमा परेको भन्दै, भावुक अपील गरेका छन्—हाम्रो सन्तान दशैँ–तिहार बिर्सँदै छन्, नेपाल अब केवल पाठ्यपुस्तकमा सीमित नहोस्।

देवेन्द्र खरेलले आफूले अघि सारेको योजनालाई ‘पहिलो पुस्ता–दोस्रो पुस्ता–भविष्य पुस्ता’ बीचको गहिरो सम्बन्धको पुलका रूपमा चित्रण गरेका छन्। उनले प्रस्तुत गरेका योजना र दृष्टिकोण केवल कार्यक्रमको सूचि होइनन्—यो नेपाली संस्कृति, पहिचान र भावी पुस्ताको अस्तित्व जोगाउने बृहत् खाका हो।

Nepal Connect 2.0 बाट लिएर ‘Mind & MoMo’ Wellness Hub सम्म, उनले घोषणा गरेका कार्यक्रमहरूमा आधुनिक प्रविधि, समावेशी दृष्टिकोण र सामाजिक मनोविज्ञानको प्रयोग देखिन्छ। दोस्रो पुस्तालाई नेपाली चाडपर्व, भाषा, संस्कार, कलासंस्कृति, र भावनात्मक सशक्तिकरणमा पुनः जोड्न ‘Roots & Wings Mentorship’ र ‘Nepal Immersion Scholarships’ जस्ता कार्यक्रम उल्लेखनीय छन्।

खरेलको घोषणामा हालको NRN शैलीप्रति पनि स्पष्ट आलोचना गरिएको छ। उनले वर्तमान एनआरएन गतिविधिहरू ‘गाला नाइट’ र ‘नेपाल महोत्सव’मै सीमित भएको उल्लेख गर्दै भनेका छन्, “हामी अझै हिजोमा रमाइरहेका छौं, तर हाम्रो दोस्रो पुस्ता हाम्रो वरिपरि छैन।” उनले जोड दिए—यदि आज सचेत भइनँ भने भोलि हाम्रो संस्कृति र सन्तान दुवै गुम्नेछ।

पेशाले रजिस्टर्ड नर्स, सामाजिक अभियन्ता तथा नेपाली पाठशालाका उपाध्यक्ष रहेका खरेल सन् २०२१ देखि NRNA SA मा पब्लिक अफिसरको रूपमा क्रियाशील छन्। उनले सरकारी ग्रान्टहरू दिलाएर नेपाली समुदायमा शिक्षा, संस्कृति र सेवा क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन्।

उनले आफूले अघि सारेको घोषणामा नयाँ पुस्तालाई केन्द्रमा राख्दै कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता जनाएका छन्—जसमा डिजिटल सशक्तिकरण, विद्यालयसँगको सहकार्य, आपतकालीन सहायता कार्यक्रम र मानसिक स्वास्थ्यसँग जोडिएका योजना छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको