सिड्नी — नेपाली सञ्चालित सिड्नीस्थित एक लेखा तथा वित्तीय सेवा कम्पनी र त्यसका सञ्चालकलाई आप्रवासी कामदारबाट गैरकानुनी रूपमा तलब फिर्ता असुलेको प्रकरणमा अदालतले कुल एक लाख ७७ हजार अस्ट्रेलियाली डलर जरिवाना गरेको छ।
संघीय सर्किट तथा पारिवारिक अदालतले कम्पनीलाई एक लाख ४८ हजार डलर र सञ्चालकलाई २९ हजार डलर जरिवाना तोकेको अस्ट्रेलियाको फेयर वर्क अम्बुड्सम्यानले जनाएको छ।
पीडित तीस वर्ष उमेर समूहकी नेपाली नागरिक हुन्। अस्थायी स्नातक प्रवेशाज्ञामा रहेकी उनी जुलाई २०१९ देखि डिसेम्बर २०२० सम्म उक्त कम्पनीमा सहायक लेखापालका रूपमा आंशिक समय कार्यरत थिइन्।
अदालती विवरणअनुसार कम्पनीले रोजगारीको सुरुआती करिब १० हप्तासम्म उनलाई तलब दिएको थिएन। त्यसपछि तलब, निवृत्तिभरण योगदान र करसमेत समेटिने रकम कम्पनी वा सञ्चालकको नियन्त्रणमा रहेको खातामा जम्मा गर्न बाध्य बनाइएको थियो।
अक्टोबर २०१९ देखि डिसेम्बर २०२० सम्म कामदारबाट कुल ३२ हजार ९०७ डलर असुलिएको थियो। यस प्रक्रियाका कारण उनले गरेको कामबापत वास्तविक रूपमा कुनै पारिश्रमिक पाइनन्।
तलब, सार्वजनिक बिदा र प्रयोग नभएको वार्षिक बिदासहित उनलाई ४० हजार १६४ डलर ४९ सेन्ट कम भुक्तानी गरिएको पाइएको थियो। उक्त रकम अहिले पूर्ण रूपमा फिर्ता गरिएको जनाइएको छ।
कम्पनीले रोजगारी अभिलेख र तलब विवरणसम्बन्धी कानुन उल्लङ्घन गर्नुका साथै फेयर वर्क निरीक्षकलाई झुटो वा भ्रामक विवरण उपलब्ध गराएको अदालतको ठहर छ।
फेयर वर्क अम्बुड्सम्यानले गैरकानुनी रूपमा तलब फिर्ता असुल्नु श्रमिक शोषणको गम्भीर रूप भएको जनाएको छ। प्रवेशाज्ञाको अवस्था जस्तोसुकै भए पनि अस्ट्रेलियामा कार्यरत सबै श्रमिकले कानुनअनुसारको पारिश्रमिक प्राप्त गर्ने र आफूसँग राख्ने अधिकार पाउँछन्।
तलब वा सेवासुविधासम्बन्धी समस्या भएका कामदारले फेयर वर्कलाई १३ १३ ९४ मा तथा दोभाषे सेवाका लागि १३ १४ ५० मा सम्पर्क गर्न सक्छन्।