Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
एडिलेडमा पनि मनाइयो महाशिवरात्री, व्यशाचार्य भुवन गुरुको सङ्गीतमय प्रवचन
नेपालआईज
७ फागुन २०७९ १२:५७
सुवास मिश्र / एडिलेड –
हिन्दूहरूको पर्व महाशिवरात्रिको अवसरमा साउथ अस्ट्रेलियाको एडिलेडमा पनि नेपाली समुदायले भजन, कीर्तन तथा नृत्य गरेर मनाएको छ । ‘नेपाली भजन किर्तन समूह एडिलेड’को आयोजनामा भएको कार्यक्रममा करिब ८ सय ५० भक्तजनको उपस्थिति थियो ।
भक्तालुहरू माझ नेपालबाट आएका व्यशाचार्य भुवन गुरुले सङ्गीतमय प्रवचन दिनुभएको थियो । संयोजक गणेश प्रसाद पराजुलीले अस्ट्रेलियाको नेपाली समुदायमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले यहाँका नेपालीहरू बीचमा थप उर्जा मिल्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरूले अस्ट्रेलियामा छोरा छोरी भेट्न आउने बुवाआमाहरूलाई नेपालकै याद दिलाउने भएकाले समुदायमा धार्मिक कार्यक्रम आवश्यक भएको बताउनुभयो ।
भजन कीर्तनमा एडिलेड आसपास रहेका नेपालीहरूको बाक्लो उपस्थिति थियो भने नेपालबाट घुम्न आएका बुबाआमाहरूले रमाइलो गरेका थिए । अस्ट्रेलिया आएर पनि भजन कीर्तनमा सहभागी हुन पाउँदा नेपालमै छु जस्तो लागेको उनीहरूले अनुभव सुनाए । एडिलेडको बढ्दो नेपाली समुदायसँगै भजन कीर्तन समूह एडिलेडले हरेक वर्ष कृष्णा अष्टमी र महाशिवरात्रिमा फरक खालको कार्यक्रम गर्दै आएको संयोजक पराजुलीले जानकारी दिनुयभो । ‘कार्यक्रम सास्ती सम्भव सुवेदीको संयोजकत्वमा भएको थियो ।’
नानीबाबुहरू पनि रमाए
यसैबीच ‘एडिलेड नेपाली विद्यालय’ले पनि महाशिवरात्रीको अवसरमा नानीबाबुहरुलाई व्याशाचार्य भुवन गुरुबाट शिवरात्री विशेष कार्यक्रम कक्षा आयोजना गर्यो । यहाँ जन्मे हुर्केका नानीबाबुहरूका लागि हाम्रो नेपाली कला संस्कृति र परम्परा सिकाउनु पर्छ भन्ने उद्देश्यले कक्षामा शिवरात्रिको कार्यक्रम आयोजाना गरेको विद्यालयका प्रिन्सिपल लक्ष्मी आचार्यले जानकारी दिनुभयो ।
फोटो : ‘एडिलेड नेपाली विद्यालय’
यहाँ जन्मेका नानीबाबुहरूलाई कक्षामा अनुशासनको महत्त्व र महाशिवरात्रि जस्तै अन्य नेपाली पर्व र संस्कृतिले हामीलाई कसरी अनुशासित बनाउन सिकाउँछ भन्ने विषयमा गुरुले विद्यार्थीमाझ प्रवचन दिनुभएको थियो । ‘एडिलेड नेपाली विद्यालय’ नेपाली भाषा र संस्कृतिको बारेमा नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले सन् २०१५ देखि एडिलेड नेपाली समाज अन्तर्गत संचालन हुँदै आएको छ ।
विद्यालयमा नानीबाबुहरूको आकषर्ण बढ्दै गएको र वार्षिक ६०-७० विद्यार्थीहरू सहभागी हुने गरेको विद्यालयकी प्रशासक सुधा सापकोटाले जानकारी दिनुभयो ।