एडिलेडमा होलीको रंगसँगै घन्कियो एलिना चौहानको धोकेबाज…!

एडिलेडमा होलीको रंगसँगै  घन्कियो एलिना चौहानको धोकेबाज…!
नेपालआईज
२२ फागुन २०७९ ८:१०

एडिलेड, सुवास मिश्र ।


अघिल्लो दिनको पारिलो घामबाट केही चिसो अनुभूति गरिएको थियो एडिलेडमा । होलीको रंगहरूमा मौसम अर्को रंग भएर थपिएको थियो । बादल र वर्षाले दिनैभरि जसो लुकामारी गरेपनि नेपालीमूलका बालबालिका, युवायुवती तथा प्रौढहरूका हुल हातमा रङ लिएर गाउँदै, रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ रमाइरहेका देखिन्थे यो वर्षको फागु पूर्णिमा अर्थात होली ।

रमाइलो उत्सव अनि सद्भावका रूपमा मनाइने रंगहरूको पर्वमा युवायुवतीहरू रंगहरूसँगै प्रायः सेतो टीसर्ट र कालो चश्मामा सजिएका देखिन्थे ।

नेपालबाट आफन्त भेट्न आएका अभिभावकहरू नाती नातिनासँग होलीको मज्जा लिइरहेका देखिन्थे । विभिन्न स्वादका खानेकुराहरूको बीचमा नेपाली स्वादका परिकारहरू मम, चाउमिन र चिया विशेष रुचाइएको देखिन्थ्यो।

बालबालिकाहरूले हातमा रंगका प्याकेट बोकेर आफ्नै उमेरकासँग खेलिरहेका देखिन्थे भने स्थानीय तथा नेपाली राष्ट्रियस्तरका कलाकारहरूले होलीको कार्यक्रमलाई थप मनोरञ्जनात्मक र सांगीतिक बनाएका थिए।

पछिल्लो समय निकै रुचाइएको धोकेबाज गीतकी गायिका एलिना चौहानले प्रस्तुति दिइरहँदा दर्शक दीर्घाको दृश्य रोमाञ्चित थियो। उल्लेख्य संख्यामा युवायुवतीहरू टिकटक भिडियो बनाउँदै थिए भने पछाडिका दर्शकहरू गायिका चौहानलाई साथ दिँदै हाउभाउका साथ सँगै गाइरहेका थिए । चर्चित नामहरू विक्रम बराल, सुदिन पोखरेल, निहारिका ज्ञवाली र समीर आचार्यले आ-आफ्नो प्रस्तुतिहरू दर्शकमाझ पस्किएका थिए ।

नेपालमा आ–आफ्नो परम्पराअनुसार धर्म संस्कृतिलाई मनाउने रीतिरिवाज यहाँका स्थानीय नेपालीहरूमा पनि देखिएको थियो । एडीलेड नेपालको आयोजना तथा अस्जिज माईग्रेसनको प्रस्तुति रहेको ‘होली फेस्टिवल अफ कलर’ मिचेल पार्क ओभलमा आइतबार सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सफल बनाउन आर्थिक रूपमा सहयोग गर्ने व्यवसायीहरूको स्टल पनि राखिएको थियो । साउथ अष्ट्रेलिया टोरेन्स क्षेत्रकी संघीय संसद डाना ओर्टलीको समेत उपस्थिति रहेको थियो । महानायक राजेश हमाल र वरिष्ठ गायक राजेश पायल राई आउने भनेर प्रचार गरिएपनि आयोजकले अन्तिम समयमा भिसाको कारण देखाउँदै नआउने जानकारी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको