Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियामा मुकुन्द शर्मा राजोपाध्यायको जीवनी पुस्तक लोकार्पण
नेपालआईज
२७ फागुन २०८१ ९:२९
एडिलेड – साउथ अस्ट्रेलियामा एक विशेष समारोहका बीच प्रजातान्त्रिक योद्धा मुकुन्द शर्मा राजोपाध्यायको जीवनी समेटिएको पुस्तक लोकार्पण गरिएको छ। स्वर्गीय राजोपाध्यायको ३०औं पुण्यतिथिको अवसरमा आयोजित सो कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनील पोख्रेल, एनआरएनए ओशिनिया डेपुटी रिजनल कोर्डिनेटर गोकुल घिमिरे, साउथ अस्ट्रेलियन मल्टीकल्चरल कमिसन सदस्य मन्जु खड्का, एनआरएनए साउथ अस्ट्रेलिया संयोजक संजय पुरी, तास्मानिया संयोजक जगदीश खड्का, नर्दर्न टेरिटोरी संयोजक संजिव गोर्खाली लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
उक्त पुस्तक पत्रकार तथा लेखक हरि अधिकारीको लेखन तथा सम्पादनमा तयार भएको हो। कार्यक्रममा एनआरएनए ओशिनियाका पूर्व डेपुटी रिजनल कोर्डिनेटर नवीन कंडेलले पुस्तक समीक्षा गर्दै मुकुन्द शर्मा राजोपाध्यायको जीवनका आरोह-अवरोहबारे जानकारी गराएका थिए। उनले पुस्तकमा समेटिएका महत्त्वपूर्ण घटनाहरूको चर्चा गर्दै राजोपाध्यायको संघर्षमय जीवन उजागर गरेका थिए।
वक्ताको विचार
कार्यक्रममा प्रमुख अतिथि राजदूत यादवले राजोपाध्यायलाई नेपालको प्रजातान्त्रिक आन्दोलनका निडर योद्धा बताउँदै देश र प्रजातन्त्रका लागि उनले गरेको योगदानलाई उच्च सम्मान गरिन्। उनले भनिन्, “मुकुन्द शर्मा राजोपाध्यायले आफ्नो सम्पूर्ण जीवन लोकतन्त्र र स्वतन्त्रताको लागि समर्पित गर्नुभयो। उहाँको संघर्षकै कारण आज हामी स्वतन्त्रताका साथ विचार राख्न पाएका छौं।”
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनील पोख्रेलले युवाहरूका लागि प्रेरणाको स्रोत बन्ने गरी राजोपाध्यायको जीवनी प्रस्तुत गरिएको बताए। उनले भने, “१८-२० वर्षको कलिलो उमेरमै परिवर्तनको सपना बोकेर हिँड्नु, १० वर्ष कठोर कारावास भोग्नु, १२ वर्ष निर्वासनमा बस्नु— यी सबै घटनाले उहाँको जीवनलाई संघर्षमय बनायो। तर, अन्तिम क्षणसम्म पनि उहाँले देशकै लागि कार्य गर्नुभयो।”
त्यस्तै, एनआरएनए ओशिनिया डेपुटी रिजनल कोर्डिनेटर गोकुल घिमिरेले नेपालको लोकतन्त्र र गणतन्त्र स्थापनामा राजोपाध्यायको बलिदान अविस्मरणीय रहेको बताए। उनले भने, “नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा मुकुन्द शर्मा राजोपाध्यायको योगदान कहिल्यै बिर्सन सकिँदैन। उहाँले देखाएको मार्गकै कारण आज हामी स्वतन्त्र वातावरणमा बाँच्न पाएका छौं।”
संघर्षमय जीवन र योगदान
वि.सं. २०१७ मा राजा महेन्द्रले पञ्चायती शासन लागू गरेपछि नेपाली कांग्रेसले त्यसविरुद्ध सशस्त्र क्रान्तिको घोषणा गर्यो। सोही आन्दोलनमा संलग्न भई मुकुन्द शर्मा राजोपाध्याय सक्रिय भए। उनी श्यामलाल श्रेष्ठ, ओमकार श्रेष्ठ, र रुपचन्द्र नहाटा सहितको समूहमा रहेर विस्फोटक पदार्थ काठमाडौँ भित्र्याउने योजनामा लागे। २०१९ सालमा सिंहदरबार, नारायणहिटी, दूरसञ्चार, र रेडियो नेपालमा एकैसाथ विस्फोट गराउने योजना बनाए पनि कार्यान्वयन हुनुअघि नै उनी पक्राउ परे।
पक्राउपछि उनलाई २०१९ देखि २०२९ सालसम्म १० वर्ष कठोर कारावासको सजाय सुनाइयो। जेल जीवनपछि पनि उनको संघर्ष रोकिएन। उनलाई थप १२ वर्ष भारतमा निर्वासनमा बस्न बाध्य पारियो। २०३९ सालमा नेपाल फर्किएर उनी पुनः पार्टी गतिविधिमा सक्रिय भए।
वि.सं. २०४६ मा बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि उनको जीवनमा केही सहजता आएको थियो। तर, जेल जीवनमा भोगेको यातना र निरन्तर संघर्षका कारण उनको स्वास्थ्य कमजोर हुँदै गयो। विभिन्न रोगहरूको चपेटामा परेका उनले २०५१ सालमा ५२ वर्षको उमेरमा संसारबाट बिदा लिए।
उहाँको जीवनी समेटिएको पुस्तक
वरिष्ठ साहित्यकार हरि अधिकारीद्वारा लिखित पुस्तकमा मुकुन्द शर्मा राजोपाध्यायको जीवनीका विभिन्न पक्ष समेटिएका छन्। पुस्तकमा उनको राजनीतिक यात्रा, जेल जीवन, निर्वासनका दिनहरू, परिवारबाट भोगेको तिरस्कार, र नेपालको लोकतान्त्रिक आन्दोलनमा उनको योगदानलाई उजागर गरिएको छ।
वि.सं. १९९९ साल भाद्र ९ गते जन्मिएका राजोपाध्याय नेपाली कांग्रेसका एक निष्ठावान नेता थिए। २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि उनको जीवनमा केही खुसी आएको भए पनि त्यो क्षण क्षणिक रह्यो। २०५१ सालमा उनले यो संसारबाट बिदा लिए।
मुकुन्द शर्मा राजोपाध्यायको जीवनी नेपाली लोकतान्त्रिक आन्दोलनका लागि महत्वपूर्ण दस्तावेज हो। उनको संघर्ष, बलिदान, र देशभक्ति भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्नेछ। अस्ट्रेलियामा लोकार्पित यो पुस्तकले स्वर्गीय राजोपाध्यायको योगदानलाई स्मरण गराउँदै नयाँ पुस्तालाई नेपालको क्रान्तिकारी इतिहासबारे जानकारी दिने विश्वास गरिएको छ।