एडिलेड — लायमस्टोन कोस्ट क्षेत्रमा बसोबास गर्ने नेपालीहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउने, नेपाली संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ माउन्ट ग्याम्बियरमा नेपाली समुदाय समिति गठनका लागि पहिलो अनौपचारिक छलफल सम्पन्न भएको छ।
जेठ ११ गते सम्पन्न उक्त बैठकले समितिको प्रारम्भिक रूपरेखा तय गर्दै ज्ञानेन्द्र पौडेलको अध्यक्षतामा तदर्थ समिति समेत चयन गरेको हो। सहभागीहरूले नेपाली समुदायको संस्थागत उपस्थितिको आवश्यकता औंल्याउँदै चारवटा महत्वपूर्ण निर्णय गरेका छन् — समुदायको उद्देश्य झल्काउने उपयुक्त नाम चयन गर्ने, ११ सदस्यीय समिति गठन गर्ने, दर्ता प्रक्रिया सुरु गर्ने, र आगामी साधारण सभाको मिति तोक्ने।
बैठकले साधारण सभासम्मको जिम्मेवारी सम्हाल्ने गरी तदर्थ समिति प्रस्ताव गरेको छ। अध्यक्षमा ज्ञानेन्द्र पौडेल रहेका छन् भने साधारण सभा पश्चात अमृत बास्तोलालाई अध्यक्ष बनाउने प्रस्ताव गरिएको छ। उपाध्यक्षहरूमा कञ्चन थापा र सुशिल थापा (वा ज्ञानेन्द्र पौडेल) रहेका छन्। सचिवमा विवेक न्यौपाने, कोषाध्यक्षमा रेनु महत, पब्लिक अफिसरमा रोशन अधिकारी चयन भएका छन् भने सह–सचिवको पद हाल रिक्त रहेको छ।
समिति सदस्यहरूमा प्रदीप बराल, सुजित घिमिरे, लक्ष्मण शर्मा, सुदर्शन गिरी, महेन्द्र कंडेल, नसीब मल्ल ठकुरी, कमल विश्वकर्मा, प्रवत मावो, रोस्तिका सापकोटा, सुवास गिरी र शिखा गिरी रहेका छन्।
बैठकमा सहभागी सबै सदस्यप्रति आयोजक टोलीले आभार व्यक्त गर्दै तदर्थ समितिले साधारण सभासम्म जिम्मेवारी सम्हाल्ने स्पष्ट पारेको छ। समितिले समुदायका सबै नेपालीहरूलाई सहकार्यका लागि आह्वान गर्दै, इच्छुक व्यक्तिहरूलाई सहभागी हुन अध्यक्ष पौडेलले अनुरोध गरेका छन्।