एडिलेड / साउथ अस्ट्रेलियाको एडिलेडस्थित नेपाली समुदायका लागि एक विशेष आध्यात्मिक कार्यक्रम यही आउँदो शुक्रबार, जुन ६ तारिख आयोजना हुने भएको छ। ‘स्पिरिचुअल कन्भेन्सन: माइन्ड एण्ड माइन्डसेट’ शीर्षकमा सञ्चालन हुने उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त आध्यात्मिक शिक्षक, प्रेरक वक्ता तथा वैदिक जीवनशैलीका अभ्यासकर्ता रुपेश्वर गौर दासको प्रमुख उपस्थित रहने आयोजकहरूले जनाएका छन्।
कार्यक्रम साँझ ६:०० बजेदेखि ९:०० बजेसम्म एडिलेडको ४८९ ब्राइटन रोड, ब्राइटन मा आयोजना हुनेछ। कार्यक्रमको आयोजना रेटा वर्ल्ड र ओके छ त इभेन्टको संयुक्त पहलमा गरिएको हो। कार्यक्रम व्यवस्थापक निजन श्रेष्ठका अनुसार, यो सत्संग नेपाली समुदायबीच आध्यात्मिक जागरण र मनोवैज्ञानिक सन्तुलनको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको हो।
रुपेश्वर गौर दास, जो अन्तर्राष्ट्रिय कृष्णभावनामृत संस्था (ISKCON) का आध्यात्मिक शिक्षक हुन्, विश्वभरका लाखौं मानिसहरूलाई ध्यान, साधना र भक्ति अभ्यासमार्फत जीवनका गहिरा प्रश्नहरूको उत्तर दिन प्रेरित गर्दै आएका छन्। उनी विशेषतः युवाहरूमा मानसिक स्वास्थ्य, आत्मशुद्धि र सकारात्मक सोच विकासमा केन्द्रित शिक्षाका लागि प्रसिद्ध छन्।
कार्यक्रमले ‘Mind and Mindset’ अर्थात् ‘मन र मनोवृत्ति’ सुधारमा केन्द्रित विषयवस्तुमा रुपेश्वर गौर दासद्वारा मार्गदर्शन, ध्यान अभ्यास, भक्ति भावनाका सन्देश र संवाद प्रस्तुत गरिनेछ।
कार्यक्रममा सहभागीतामार्फत समुदायका सदस्यहरूले आत्मचिन्तन, आन्तरिक शान्ति र सकारात्मक सोच प्राप्त गर्न सक्ने आयोजकको विश्वास छ। आयोजकहरूका अनुसार, “समयको दौडमा हराउँदै गएका हामीहरूका लागि यो कार्यक्रम जीवनको गति पुनः आत्मीयता र मूल्यमा फर्काउने प्रयास हो।”
कार्यक्रम निःशुल्क हुने जनाइएको छ र सम्पूर्ण नेपाली समुदायलाई सहभागिताका लागि खुला आमन्त्रण गरिएको छ।