एडिलेड –एनआरएनए अष्ट्रेलियाको आगामी कार्यकालका लागि साउथ अष्ट्रेलियाबाट विनोद बानियाले राज्य संयोजक पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
एनआरएनएको पूर्व युथ सदस्य, स्टेट सचिव र हाल डेपुटी संयोजकको भूमिकामा रहिसकेका बानिया संस्थामा लामो अनुभव बोकेका उम्मेदवार हुन्। उम्मेदवारी घोषणासँगै उनले “एनआरएनए कुनै व्यक्ति विशेषको संस्था होइन, यो हामी सबैको साझा सपना हो” भन्दै सहभागी, पारदर्शी र सुधारमुखी नेतृत्वको खाका सार्वजनिक गरेका छन्।
बानियाले एनआरएनएको संरचना, समस्या र सम्भावनालाई नजिकबाट बुझेको अनुभव सुनाउँदै दीर्घकालीन सुधार, नेतृत्व हस्तान्तरण र दोस्रो पुस्तालाई अघि ल्याउने सोचसहित नेतृत्व गर्ने दाबी गरेका छन्।
उनको एजेन्डामा युवामैत्री कार्यशालादेखि करियर गाइड, मानसिक स्वास्थ्य सशक्तिकरणदेखि नयाँ विद्यार्थीका लागि व्यवहारिक अभिमुखीकरण, सदस्यता सुविधा, नेपाली व्यवसायहरूसँग सहकार्य तथा महिला सशक्तिकरणका विशेष कार्यक्रमहरू समेटिएका छन्।
“सशक्त महिला, सशक्त समाज” भन्ने नारासहित उनले महिला नेतृत्व विकासलाई पनि प्राथमिकतामा राख्ने बताएका छन्। साथै, समुदायसँगको प्रत्यक्ष संवाद र सहकार्यलाई केन्द्रमा राख्दै, अघिल्लो सफल कार्यक्रमहरूलाई निरन्तरता दिँदै आवश्यकताअनुसार नयाँ परियोजनाहरू ल्याइने बताएका छन्।
उनले निर्वाचनसम्म थप एजेन्डाहरू सार्वजनिक गर्दै जाने र सबैको सुझाव र सहयोगलाई खुलेर स्वागत गर्ने बताएका छन्।
साउथ अष्ट्रेलियामा एनआरएनए संयोजक पदमा आकांक्षीहरूको चाप उच्च देखिए पनि, बानियाको एजेन्डा, अनुभव र समावेशी दृष्टिकोणले चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ।
एनआरएनए अष्ट्रेलियाको निर्वाचन आगामी जुलाई २६ मा हुँदैछ।