अष्ट्रेलिया । एडिलेडमा बसोबास गर्दै आएका भारतीय मूलका ४२ वर्षीय गौरव कुन्डीको असामयिक मृत्युले एक सामान्य पारिवारिक विवादले कसरी जीवनको लय नै बिगार्न सक्छ भन्ने कहालीलाग्दो यथार्थ देखाएको छ।
२९ मे को रात २:४५ बजे रोयस्टन पार्कस्थित सडक किनारमा गौरव र उनकी श्रीमती अमृतपाल कौरबीच सामान्य भनिएको झोकको झगडा भएको थियो। श्रीमतीका अनुसार, उनका श्रीमान केही मद्यपान गरेको अवस्थामा थिए र सामान्य विवाद चलिरहेको थियो। तर केहीबेरमै आइपुगेको प्रहरी र त्यसपछिको गिरफ्तारीले पुरै परिवारलाई छिन्नभिन्न बनाइदियो।
पक्राउ र त्यसपछिको पीडा
प्रहरीले नियन्त्रणमा लिने क्रममा गौरव कुन्डी “अचेत” भए र त्यही रात उनलाई गम्भीर अवस्थामै अस्पताल पुर्याइयो। दुई सातासम्म जीवन र मृत्युको बीचमा लडेका कुन्डीको १३ जुनमा निधन भयो। त्यसपछि घरमा छायो शोक, आक्रोश र अनुत्तरित प्रश्नहरू।
एक्कासि विधवा र टुहुरा जीवन
उनकी श्रीमती अमृतपाल कौर अब एक्लै दुई नाबालक छोराछोरीको अभिभावक बन्न बाध्य भएकी छन्। “हाम्रो झगडा सामान्य थियो, यस्तो अकल्पनीय परिणाम होला भन्ने सोचेकै थिइनँ,” उनले आँखा रसाउँदै भनिन्।
उनले थप आरोप लगाएकी छन् कि प्रहरीद्वारा नियन्त्रणमा लिएपछि उनले भिडियो खिच्न रोक्दा एक अधिकृतले उनका श्रीमानको घाँटीमा घुँडा राखेको देखेकी थिइन्। यद्यपि प्रहरीले यो आरोप अस्वीकार गर्दै ‘बडी क्याम फुटेज’मा त्यस्तो दृश्य नदेखिएको बताएको छ।
अनुसन्धानकोघेरामा घटना
यो घटना अहिले “प्रहरी नियन्त्रणमा मृत्यु” का रूपमा दर्ज गरिएको छ। मेजर क्राइम शाखादेखि राज्य कोरोनरसम्म, पब्लिक इंटिग्रिटी अफिससम्म बहु तहको अनुसन्धान अगाडि बढेको छ। साथै, भारतीय कन्सुलेटलाई पनि घटनाको अद्यावधिक जानकारी दिइँदै आएको छ।
एक क्षणको आक्रोशले जीवन बर्बाद
यो घटना केवल एक प्रहरी नियन्त्रणमा भएको मृत्यु होइन, एक परिवारको जीवनभरको पीडा हो। श्रीमान गुमाइएकी पत्नी र बिनाबुबा भएका नाबालक छोराछोरीका लागि यो त्रासदी कहिल्यै मेटिने छैन। एउटै क्षणको चुक, एउटा विवादको झोक र त्यसपछि उठेका प्रश्नहरू,जुन अझै अनुत्तरित छन्।