एडिलेडमा पनि मनाइयो महाशिवरात्री, व्यशाचार्य भुवन गुरुको सङ्गीतमय प्रवचन

एडिलेडमा पनि मनाइयो महाशिवरात्री, व्यशाचार्य भुवन गुरुको सङ्गीतमय प्रवचन
नेपालआईज
७ फागुन २०७९ १२:५७


सुवास मिश्र / एडिलेड – 

हिन्दूहरूको  पर्व महाशिवरात्रिको अवसरमा  साउथ अस्ट्रेलियाको एडिलेडमा पनि नेपाली समुदायले भजन, कीर्तन तथा नृत्य गरेर मनाएको छ । ‘नेपाली भजन किर्तन समूह एडिलेड’को आयोजनामा भएको कार्यक्रममा करिब ८ सय ५० भक्तजनको उपस्थिति थियो । 

भक्तालुहरू माझ  नेपालबाट आएका व्यशाचार्य भुवन गुरुले सङ्गीतमय प्रवचन दिनुभएको थियो ।  संयोजक गणेश प्रसाद पराजुलीले अस्ट्रेलियाको नेपाली समुदायमा  धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले  यहाँका नेपालीहरू बीचमा थप उर्जा मिल्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरूले अस्ट्रेलियामा छोरा छोरी भेट्न  आउने बुवाआमाहरूलाई नेपालकै याद  दिलाउने भएकाले समुदायमा  धार्मिक कार्यक्रम आवश्यक भएको बताउनुभयो ।

भजन कीर्तनमा  एडिलेड आसपास रहेका नेपालीहरूको बाक्लो उपस्थिति थियो भने नेपालबाट घुम्न आएका बुबाआमाहरूले रमाइलो गरेका थिए  । अस्ट्रेलिया आएर पनि भजन कीर्तनमा सहभागी हुन पाउँदा नेपालमै छु जस्तो लागेको उनीहरूले अनुभव सुनाए ।  एडिलेडको बढ्दो नेपाली समुदायसँगै  भजन कीर्तन समूह एडिलेडले हरेक वर्ष कृष्णा अष्टमी र  महाशिवरात्रिमा फरक खालको कार्यक्रम गर्दै आएको  संयोजक  पराजुलीले जानकारी दिनुयभो । ‘कार्यक्रम सास्ती सम्भव सुवेदीको संयोजकत्वमा भएको थियो ।’

नानीबाबुहरू पनि रमाए  

यसैबीच ‘एडिलेड नेपाली विद्यालय’ले पनि महाशिवरात्रीको अवसरमा नानीबाबुहरुलाई  व्याशाचार्य भुवन गुरुबाट शिवरात्री विशेष कार्यक्रम कक्षा आयोजना गर्‍यो । यहाँ जन्मे हुर्केका नानीबाबुहरूका लागि हाम्रो नेपाली कला संस्कृति र  परम्परा सिकाउनु पर्छ भन्ने उद्देश्यले  कक्षामा शिवरात्रिको कार्यक्रम आयोजाना गरेको  विद्यालयका प्रिन्सिपल लक्ष्मी आचार्यले जानकारी दिनुभयो । 

फोटो : ‘एडिलेड नेपाली विद्यालय’ 

यहाँ जन्मेका नानीबाबुहरूलाई कक्षामा अनुशासनको महत्त्व र महाशिवरात्रि जस्तै अन्य नेपाली पर्व र संस्कृतिले हामीलाई कसरी अनुशासित बनाउन सिकाउँछ भन्ने विषयमा गुरुले विद्यार्थीमाझ प्रवचन दिनुभएको थियो । ‘एडिलेड नेपाली विद्यालय’  नेपाली भाषा र संस्कृतिको बारेमा नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले सन् २०१५ देखि एडिलेड नेपाली समाज अन्तर्गत संचालन हुँदै आएको छ ।

विद्यालयमा नानीबाबुहरूको आकषर्ण बढ्दै गएको र वार्षिक ६०-७० विद्यार्थीहरू सहभागी हुने गरेको विद्यालयकी प्रशासक सुधा सापकोटाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको