सिड्नी, तनहुँ समाज अस्ट्रेलियाको चौथो वार्षिक साधारणसभा आइतबार सिड्नीमा सम्पन्न भएको छ। साधारणसभाले प्रकाश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
सन् २०१५ मा संस्था स्थापना भएदेखि नै सक्रिय पौडेललाई निर्वाचन समितिले अध्यक्षमा चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दामोदर अधिकारी, महासचिवमा विनोद सेन्चुरी, सचिवमा ईश्वर लम्साल र कोषाध्यक्षमा सङ्गीता खनाल चयन भएका छन्। सदस्यहरूमा सर्वदा घिमिरे, नारायण लौधारी र भीम गुरुङलगायत रहेका छन्। नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्न छिट्टै औपचारिक कार्यक्रम आयोजना गरिने संस्थाले जनाएको छ।
निवर्तमान अध्यक्ष मेघराज पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाका सदस्य, सल्लाहकार, पूर्वपदाधिकारी, प्रायोजक तथा विभिन्न सामुदायिक संस्थाका प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा निवर्तमान कार्यसमितिले गरेका सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिसँगै आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।
संस्थापक अध्यक्ष पुरुषुराम अधिकारीले संस्थाको स्थापना, विकास र समुदायप्रतिको दायित्वबारे चर्चा गरे। संस्थाका सल्लाहकार तथा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्वअध्यक्ष सुरेन्द्र सिग्देलले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए। निवर्तमान उपाध्यक्ष सूर्य खनालले स्वागत मन्तव्य राखेका थिए।
निवर्तमान अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा सहयोग गर्ने कार्यसमिति, सल्लाहकार, स्वयंसेवक, सांस्कृतिक तथा कार्यक्रम संयोजक, प्रायोजक र समुदायका सदस्यप्रति धन्यवाद व्यक्त गरे। उनले संस्थाका उपलब्धि सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै नयाँ नेतृत्वलाई सामुदायिक एकता, सदस्यहरूको हित, नेपाली तथा तनहुँको संस्कृति संरक्षण र नयाँ पुस्ताको सहभागितामा जोड दिन आग्रह गरे।
सन् २०१५ मा स्थापना भएको तनहुँ समाज अस्ट्रेलियाले तनहुँसँग सम्बन्धित व्यक्ति तथा अस्ट्रेलियाको नेपाली समुदायलाई एकताबद्ध गर्दै विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले तनहुँको मौलिक कौरा नृत्यलाई अस्ट्रेलियामा परिचित गराउनसमेत योगदान पुर्याउँदै आएको छ।